
काठमाडौं । सरकारी अस्पतालमा सेवाग्राहीलाई टिकट काट्न लामो लाइनमा बस्न नपरोस् भनेर अनलाईन मार्फत टिकट काट्ने व्यवस्था गरिएको छ । तर, अहिले पनि उपचारका लागि अस्पताल जानु पर्ने सेवाग्राहीले अनलाईन मार्फत भन्दा अस्पतालमै गएर पालो कुरेरै टिकट काट्ने गरेको देखिन्छ ।
टिकटकै लागि लामो लाईन कुर्नुपर्ने अवस्था हटाउदै अस्पतालको सेवा व्यवस्थित र प्रविधिमैत्री बनाउन गरिएको अनलाइन टिकट प्रणालीको कार्यान्वयनमा किन कमी आयो त ? यो बाध्यात्मक अवस्था हो वा अनलाइन प्रणालीप्रतिको अविश्वास हो त ?
सरकारी अस्पताल भन्ने वित्तिकै सामान्य मनस्थितिले सोच्दा टिकट काट्नै लाइन बस्नु पर्ने त हो नि भन्ने आइहाल्छ । टिकट लिन समेत यस्तो असहज अवस्था सुधारकै लागि भनेर अनलाइन टिकट प्रणाली कार्यान्वयनमा ल्याइएको थियो । तर अहिले पनि सरकारी अस्पतालमा उपचारका लागि पुग्ने सेवाग्राही अस्पतालमै लाइनमा बसेर उपचारका लागि टिकट काट्ने गरेको देखिन्छ ।
मुलुकको एक मात्र केन्द्रिय सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले करिब ३ महिना अघि आफ्नो वेवसाइड तथा इसेवा मार्फत टिकट काट्ने व्यवस्था मिलाएको छ । तर अस्पतालमा दैनिक ओपिडी सेवा लिन ४ सयको हाराहारीमा पुग्ने मध्ये ४ देखि ५ जनाले मात्र अन्लाइनबाट टिकट काटेर उपचारमा पुग्ने गरेका छन् ।
हाल अस्पतालमा अनलाइन मार्फत टिकट काट्ने प्रक्रिया बुझाउँन डेक्स नै स्थापना समेत गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मुलुककै जेठो अस्पताल वीर अस्पतालमा समेत अन्य अस्पतालको तुलनामा सबैभन्दा बढी बिरामी पुग्ने गर्दछन् । विरामीको चाप कम गर्न र व्यवस्थित गर्न भन्दै अस्पताले करिब ३ वर्ष अगाडी नै अनलाईन टिकट काट्ने व्यवस्था गरिएको थियो । तर अहिले पनि वीर अस्पतालमा अन्लाइनबाट भन्दा अस्पतालमा नै गएर टिकट काट्नेको ंसंख्या नै बढि भएको अस्पतलको भनाई छ ।
यस्तै, थापाथलि स्थित परोपकार प्रसुति गृहमा पनि अन्लाईन टिकटबाट सेवा लिन आउँनेको तुलनामा अस्पतालमै टिकट काट्ने बढि देखिन्छन् । त्यस्तै मुलुकको एक मात्र केन्द्रिय कान्तिबाल अस्पतालमा पनि अन्लाइन टिकट भन्दा अस्पतालमा नै लाइन लागेर टिकट काट्नको संख्या बढि भएको अस्पतालको भनाई छ ।
अस्पताले वेवसाइट तथा एप मार्फत ओपिडी सेवाको टिकट काट्ने व्यवस्था गरे पनि सेवा ग्राहीमा प्रविधि मैत्री बन्न नसक्दा अन्लाइन टिकट काट्नेको संख्या कम भएको बुझाई अस्पतालहरुको छ ।
अहिले पनि अस्पतालमा पुग्ने सेवाग्राहीहरु ओपिडी सेवाका लागि घरमा बसेर टिकट काट्ने विषयमा जानकार नै नभएको बताइरहेका छन् ।
सरकारी अस्पतालले पछिल्लो समय प्रविधि मैत्री व्यवस्था लागू गरे पनि यसबारे प¥याप्त जानकारी दिन नसक्दा अहिलेको अवस्था आएको देखिन्छ ।
साथै सेवा ग्राहीहरुमा पनि अस्पतालमानै गएर टिकट नकाटेसम्म उपचार सेवा पाइन्दैन की भन्ने सोच हावी हुदाँ तथा प्रविधि मैत्री बन्न नसक्दा अनलाईन टिकट प्रणाली प्रभावकारी बन्न सकेको देखिदैन ।
त्यसमाथि चाहेको समयमा अनलाइन टिकट लिन अस्पतालहरुका वेवसाइट समेत पूर्ण सञ्चालनमा नहुने गरेकाले पनि अनलाइन टिकटको कार्यान्वयन अवस्था कमजोर भएको देखिन्छ ।