News 24 Television
एनपीएलमा यतिसम्म भयो ! कसले कसरी के गरे ?

काठमाडौं । रोहित पौडेल कप्तान रहेको लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । ‘लो स्कोरिङ’ खेलमा काठमाडौंसँग पराजय व्यहोरेसँगै लिग चरणबाट बाहिरिने पहिलो टिम लुम्बिनी बनेको हो । 

त्यस्तै, सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सको अपराजित यात्रा टुङ्ग्याइदिएको छ । पाँचौ खेलमा चौथो जित हात पार्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लदाँ एनपीएल थप रोमाञ्चक बनेको छ । 

एनपीएलमा सबै भन्दा बलियो र समान प्रर्दशन गरेको जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ । बुधवारको पहिलो ‘हेभीवेट’ खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सको अपराजित यात्रा टुङ्ग्याइदिएको हो । पावर प्लेमा ५ विकेट गुमाएको जनकपुरले खेलमा फर्किने सकेन । 

लगातार ब्याटर आउट हुँदा पाँचौं खेलमा आएर अपराजित यात्रा टुङ्गियो भने खेल सुदूरपश्चिमको पोल्टामा पार्यो ।  सुदूरपश्चिमको बलिङसामु जनकपुरका ब्याटर टिक्न सकेनन् । यससँगै पाँचौ खेलमा चौथो जित हात पार्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ भने पराजित जनकपुर पाँचौ खेलमा पहिलो हारका साथ दोस्रो स्थानमा झरेको छ । 

पिचलाई दोष दिनुभन्दा पनि ब्याटरको सट सेलेक्सन राम्रो नहुँदा जनकपुरले हार व्यहोर्नुपरेको प्रतिक्रिया जनकपुर बोल्ट्सका कप्तानले दिएका छन् ।  

यता जनकपुर बोल्ट्सविरुद्ध सामान्य लक्ष्य रक्षा गर्दै जित निकालेपछि सुदूरपश्चिम रोयल्स्ले पछिल्लो हारपछि आएको दुविधा जनकपुरविरुद्ध जितले हट्ने भएकाले पनि बिना दबाब खेलेको बताएको छ । विहान ब्याटिङ गर्न कठिन रहेको र १ सय २० रनको योगफल पार गरेपछि जित सम्भव हुने विश्वास रोयल्स्मा थियो । 

यस्तै बुधबारको दोस्रो खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित हुँदा लुम्बिनी लायन्स लिग चरणमा नै रोकिने पहिलो टोली बनेको छ । प्रतियोगितामा छैटौँ खेल खेलेको लुम्बिनीको यो पाँचौँ हार हो । 

यसअघि लुम्बिनीले मंगलबार चितवन राइनोजलाई पराजित गरेको थियो । लुम्बिनी जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, र विराटनगर किंग्ससँग पराजित भएको थियो ।

चितवनलाई हराउँदै २ अंक जोडेको लुम्बिनी पाँचौं स्थानमा उक्लिएको थियो । प्लेअफमा पुग्ने सम्भावना कायम राख्न लिग चरणको अन्तिम २ खेलमा गुर्खाज र कर्णाली याक्सविरुद्ध जित हासिल गर्नै पर्ने लुम्बिनीलाई दबाब थियो । ६ खेलमा पाँच हार र एक जितसहित लुम्बिनी दुई अंकसहित लिग चरणबाट बाहिरिएको छ । 

अब आफ्नो अन्तिम खेलमा लुम्बिनीले शुक्रबार कर्णाली याक्ससँग सान्त्वना जितको लागि खेल्ने छ । रोहितले एउटै मैदानमा धेरै खेलिरहँदा विकेट स्लो भएपनि आफ्ना ब्याटरले योजनाअनुरूप खेल्न नसकेको कप्तान पौडेल बताउँछन् । 

हारका बाबजुद पनि जारी लिगमा सर्वाधिक रन बनाउने खेलाडी रोहित कुमार पौडेल हुन् । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले दुई अर्धशतकसहित २ सय ६९ रन बनाएका छन् ।

चितवन राइनोज र पोखरा एभेन्जर्सविरुद्धको खेलमा अर्धशतक पूरा गरेका पौडेलले जारी लिगमा २४ चौका र ११ छक्का प्रहार गरेका थिए । रोहितको उत्कृष्ट ब्याटिङका बाबजुत लुम्बिनी लिग चरणबाट बाहिरियो । 

यता,  जितसँगै चार अंक जोडेको काठमाडौं तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यता चितवन राइनोज र कर्णाली याक्स ५ खेलबाट ३ खेलमा जित निकाल्दै ६ अंकका साथ तालिकाको क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने ४ खेलमा बाट १ खेल जितेका पोखरा एभेन्र्जस र विराटनगर किंग्स क्रमशः सातौं र अठौं स्थानमा रहेका छन् । 

बिहीबार पहिलो खेलमा पोखरा एभेन्र्जस र विराटनगर किंग्स आम्नेसाम्ने हुँदैछन् भने दोस्रो खेलमा काठमान्डु गुर्खाज र जनकपुर बोल्ट्स एकअर्का विरुद्ध मैदानमा उत्रनेछन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update