काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता भएको छ । नेपालमा अलग्गै साइबर कानुन नभएकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगत साइबरसम्बन्धी कसुर गरेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्धको मुद्दा जिल्ला अदालत, काठमाडौंमा दर्ता गरेको हो । नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईमाथि अनुसन्धान गरी तयार पारिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले उक्त मुद्दा दर्ता गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अवैध लगानी कम्बोडियामा रहेको प्रमाण भन्दै कीर्ते कागजात सार्वजनिक गरेर भ्रम छर्न खोजिएको आरोपमा प्रसाईलाई यही मंसिर ४ गते पक्राउ गरिएको थियो । उनीमाथि सीआईबीले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा समेत अनुसन्धान जारी राखेको बताइएको छ ।