News 24 Television
एनपिएलबाट बाहिरिएपछि लुम्बिनीका कप्तान भन्छन्- 'सोचेअनुरूप खेल्न सकेनौं'

काठमाडाैँ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पाँचौं हारसँगै प्लेअफ होडबाट बाहिरिएपछि समग्रमा नेपाल प्रिमियर लिग(एनपिएल) को यात्रामा लक्ष्यअनुरूपमा खेल्न नसकेको बताएका छन् ।

काठमाडौं गुर्खाजसँगको हारपछि भएको पत्रकार सम्मेलनमा लुम्बिनीका कप्तान रोहितले आफ्नो क्षमताअनुरूप टोलीले नै खेल्न नसकेको स्वीकार गरेका हुन् । सुरुका खेलमा बलिङमा चुकेको र पछिका ब्याटिङमा राम्रो हुन नसक्दा खराब नतिजा सामना गरेको उनको बुझाइ छ । उनले समग्रमा लुम्बिनीको लागि पहिलो संस्करण राम्रो नभएको बताए ।

बुधबार भएकाे खेलमा काठमाडौंले दिएको लक्ष्य भेट्टाउन सकिने खालको रहेको बताउँदै उनले आफ्नो टोलीले राम्रो ब्याटिङ गर्न नसक्दा हार व्यहाेरेकाे बताए । रोहितले एउटै मैदानमा धेरै खेलिरहँदा विकेट स्लो भए पनि आफ्ना ब्याटरले योजनाअनुरूप खेल्न नसकेको बताए ।

काठमाडौंका स्पिनरले पनि धेरै राम्रो बलिङ गरेको उनी बताउँछन् । उनले आगामी सिजनबारे अहिले नै नसोचेको बताए । विकेट सोचेअनुरूपमा नभएकाले धैर्यतापूर्वक खेल्नुपर्ने उनको धारणा छ ।

काठमाडौंका लागि किफायती बलिङसँगै विकेट लिएका दीपेश कँडेलले जित्नैपर्ने खेलमा सबैले इफोर्ट लगाउँदा जित सम्भव भएको बताए । सामान्य लक्ष्य दिए पनि यो रक्षा गर्न सकिन्छ भन्ने काठमाडौंले विश्वास लिएको दीपेशकाे भनाइ छ ।

सन्दीप जोरा क्रिजमा रहँदा विकेटभन्दा पनि डट बल फ्याक्ने लक्ष्य रहेको उनको भनाइ छ । उनले आफ्नो लक्ष्य पनि सकेसम्म डट बल फ्याँक्ने रहेको बताए । आगामी हरेक खेलमा ध्यान दिएर जित निकाल्ने लक्ष्य रहेको उनी बताउँछन् ।

बुधबार काठमाण्डु गुर्खाजसँग १८ रनले पराजित लुम्बिनी लायन्सले १०४ रनको सामान्य लक्ष्य पछ्याउन सकेन र एनपिएलबाट बाहिरिने पहिलो टिम बन्न पुग्यो । लुम्बिनी जित्नैपर्ने दबाबमा थियो र जितको लागि लक्ष्य पनि सहज थियो । तर  १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८५ रनमा समेटियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update