काठमाडौं । सरकार ढल्ने विषय हल्ला हुन्, गठबन्धनले पुरा कार्यकाल काम गर्छ, सत्तारुढ दलका शीर्ष नेताहरुले भनिरहेका भनाई हुन् यि । तर, सत्ता गठबन्धनका अन्य नेताहरुले भने फरक दृष्टीकोण सार्वजनिक गरिरहेका छन् । यस परिस्थितिमा बीआरआई सम्झौता नै गठबन्धन भत्किने कडी त बन्दैन ? प्रश्न र चासो बढेको छ ।
प्रधानमन्त्री केपी ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहकार्यका लागि सद्भाव राख्दै अघि बढ्ने किसिमका अभिव्यक्ति दिइरहेका छन् । उनीहरुले सत्ता हस्तान्तरणको विषयदेखि सहकार्यको मोडालिटीबारे बहस गरिरहेका छन् । तर, कांग्रेसकै अन्य नेताहरु भने सरकारको कामबाट खुशी र सन्तुष्ट देखिन्नन् । उनीहरु विरोध गर्न थालेका छन् ।
निधिले मात्रै सरकारको विरोध गरिरहेका भने छैनन् । सरकारले सहि बाटो समात्न नसकेको आरोप चौतर्फी छ । यद्यपी देउवा र ओली भने सरकारलाई निरन्तरता दिने गरि अभिव्यक्ति दिनेमै देखिन्छन् ।
यसरी गठबन्धन सरकारले आफ्नो बाटो तय गर्दै गर्दा चिनियाँ महत्वकांक्षी परियोजना बीआरआई नै गठबन्धनमा दरार ल्याउने अस्त्र बन्ने त होइन भन्ने चासो थपिएको छ ।
बीआरआई र अन्योलता
प्रधानमन्त्री केपी ओलीले चीनसँग गरेको बीआरआई सम्झौताको विमर्श पेचिलो ढंगले चलिरहेको छ । बीआरआईमा अनुदानमात्रै भएको जिकिर गर्नेमा प्रधानमन्त्री ओलीदेखि कांग्रेस सभापति शेरबहादुर देउवा र देउवा पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।
तीन नेताहरुले यस्तो जिकिर लिएपनि पछिल्लो समय बीआरआई सम्झौतामा नयाँ दृश्यहरु खुल्न थालेका छन् । कांग्रेसले निर्णय नै गरेर ऋण अस्वीकार गर्ने र अनुदानमात्रै लिने बताइरहेको छ भने इतर पक्षका नेता तथा महामन्त्री गगन थापा झन चर्को पेश भएको स्थिति छ ।
कांग्रेसले अनुदानबाहेक सोच्नै नसकिने जिकिर गरिरहेको बेला प्रधानमन्त्री ओलीले सांकेतिक रुपमा बीआरआईका अनेक आयाम भएकाले ऋण, अनुदान, संयुक्त लगानी वा जे पनि हुनसक्ने भनेका छन् ।
विश्वका १५३ देशले स्वीकार गरेको बीआरआई नेपालका लागि छुट्टै नियममा लागू नहुने ओलीले प्रष्ट संकेत गरेका छन् ।
ओलीले यसरी बीआरआईबारे धारणा राखेको भोलिपल्ट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका छन्, बीआरआई नेपालको हितमा छ । बीआरआईको एमओयु मेरो नेतृत्वको सरकारको पालामा भएको हो । अहिले भएको सम्झौता सकारात्मक छ ।
प्रचण्डले यस्तो प्रतिक्रिया दिनु र प्रधानमन्त्री ओलीले अनुदानमात्रै हुने विषयबाट बाटो मोड्नु स्वभाविक विषय ठान्न कठिन देखिन्छ । यस्तोमा सरकार र गठबन्धन के होला भन्ने चासो स्वभाविक रुपमा बढेको छ ।
के होला सरकार ?
कांग्रेस एमालेको गठबन्धनमा प्रधानमन्त्री ओलीले सहज अवस्थाको सामना गर्ने गरेको पाइन्न । कांग्रेसले सरकारको आलोचना तीब्र रुपमा गर्न थालिसकेको छ । कांग्रेसका नेताहरुले विस्तारै सरकारको आलोचना र काम गर्न नसकेको भन्न थालिसकेका छन् ।
यस्तो आलोचना ओलीले खास रुचाउदैनन् । पार्टीमा पनि आफ्नो नेतृत्वमा नेता कार्यकर्तालाई एकाग्रह बनाएका ओलीले कांग्रेसको आलोचना सत्तामै बसेर हुन नहुने ठान्छन् ।
ओलीको चाहनाविपरितका आलोचनाले पनि सत्ता गठबन्धनको आयुमा प्रभाव पर्न थालेको छ भने कांग्रेस पनि ओलीले चीनमा बीआरआई सम्झौता झुक्याएर गरेको ठानिरहेको छ । कांग्रेस एमालेको आन्तरिक विश्वासमा कमी त पहिलेदेखि नै देखिन्छ ।
यसैको कारण ओलीले पटक–पटक सरकारको नेतृत्व हस्तान्तरण समयमै गर्ने जिकिर गर्नुपरेको छ भने ओलीमाथि कांग्रेसका शीर्ष नेताहरुले सत्ता हस्तान्त्रण नहुने होकी भन्ने दृष्टीले शंका गरिरहेका छन् । यस्ता कारण पनि सरकार के होला भन्ने चासो व्याप्त देखिन्छ ।