News 24 Television
सडक र हवाई सुविधा सुध्रिदा रारामा पर्यटकको घूइँचो

काठमाडौं । अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष कर्णाली राजमार्गका अवस्था निकै सुधारिएको छ । सडकका साथै हवाई मार्ग पनि चुस्तदुरुस्त हुँदा नेपाली भाषाको उद्गमस्थल सिन्जाको कनकासुन्दरी हुँदै रारा आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । 

अहिले यो क्षेत्रमा काठमाडौँ, पोखरा, नेपालगञ्ज, विराटनगर, भरतपुर लगायतका सहरबाट आउने पर्यटकको घूइँचो देख्न सकिन्छ । दशै तिहार सकिएपछि पनि यो क्षेत्रमा अहिले दैनिक ४०, ५० को संख्यामा आन्तरिक पर्यटक पुगिरहेका छन् । 

पर्यटकहरुलाई सवारी साधन पुग्ने स्थानबाट रारा तालसम्म पुग्न घोडाको पनि व्यवस्था छ । हिड्न नसक्नेहरुका लागि घोडाका कारण सहजमात्रै भएको छैन, मजदुरी गर्न भारतसम्म पुग्ने स्थानीयहरु पनि यतै रोकिन थालेका छन् । 

भारतका चोक गल्लीहरुमा चौकीदारी, मजदुरी गर्नुभन्दा घोडा पालेर पर्यटकलाई सुविधा दिदाँ आफ्नै देशमा बसीबसी राम्रो आम्दानी हुन थालेको उनीहरु बताउँछन् । 

घोडा सवार गर्दै रारा तालसम्म पुग्न पर्यटकलाई पनि हाइसन्चो भएको छ । तर घोडा व्यवसाय र पर्यटकबीच आउन सक्ने समस्यालाई ध्यानमा राख्दै रारा राष्ट्रिय निकुन्ज कार्यदलले चासो पनि दिन थालेको छ । 

घोडाहरुबाट कसरी आम्दानी गर्नेदेखि पर्यटकसँग कस्तो व्यवहार गर्नेसम्मका नीति, नियम निर्माणको तयारी भइरहेको निकुन्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले बताए । 

पछिल्लो समय राराको पुरै दृश्य हेर्न पर्यटक मुर्माटपसम्म पुग्ने गरेका छन् । मुर्माटबाट सैपाल हिमाल, छायानाथ, चंखेली हिमाल, चुचेमारा हिमाल अन्य धार्मिक तीर्थस्थलसहित बाजुरा, हुम्ला, जुम्ला,बाजुरा, अछाम लगायतका ७ जिल्लाको अवलोकन समेत गर्न सकिने भएपछि पनि आन्तरिक पर्यटकको संख्या बर्सेनि बढ्दै गइरहेको हो । पर्यटकको संख्यामा बृद्धि हुन थालेपछि बिस्तार सुविधासम्पन्न होटल, रिसोर्ट लगायत पनि रारा क्षेत्रमा बढ्दै गइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update