
काठमाडौं । हिउँदको समयमा पानी नपर्ने भएपछि अक्सर काठमाडौँ उपत्यकाको वायू प्रदुषण एकदमै खराब हुन्छ । यो बेला वायु प्रदुषणका कारण काठमाडौँ विश्वकै प्रदुषित सहरको शीर्ष सूचीमा समेत पर्ने गर्छ ।
उपत्यकामा वायु प्रदूषणको मात्रा अत्याधिक बढ्दा दैनिक जीवनमा कठिनाई र नागरिक स्वास्थ्यमा समेत गम्भिर असर परिरहेको छ ।
यसैलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले वायु गुणस्तर निगरानी गर्न उपकरण जडान गरेको छ । यी उपकरणहरुले वायुमा रहेको धूलो, धुँवा र विभिन्न हानीकारण कणहरूको स्तर मापन गरी तत्काल सूचना उपलब्ध गराउने भएकाले वायु प्रदूषण नियन्त्रणका लागि प्रभावकारी रणनीति बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले पार्टनरसिप फर हेल्दी सिटिज्सँगको सहकार्यमा महानगरपालिका क्षेत्रभर वायु गुणस्तर निगरानी गर्न उपकरणहरू जडान गरेको छ ।
वायु प्रदुषण मापनका लागि महानगरपालिकाभित्रका १८ ठाउँमा उपकरण जडान गर्ने क्रममा हाल तीन ठाँउमा जडान गरि सकिएको छ ।
महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको भवन काठमाडौँ प्लाजाको सडकतर्फको खण्डमा उपकरण जडान गर्दे शुभारम्भ गरिएको हो ।
हेल्दी सिटिज (स्वस्थ्य सहर) गैरसंक्रामक र चोटपटक रोकथाम गरेर जीवन बचाउन प्रतिबद्ध ७० वटा सहरहरूको विश्वव्यापी सञ्जाल हो ।
यो सञ्जालको महानगरपालिका सदस्य रहेकाले बिश्व स्वास्थ्य संगठन र विश्वव्यापी स्वास्थ्य संगठनको महत्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिजको सहयोगमा यो परियोजना सञ्चालन भइरहेको छ ।
प्रदुषणबाट आर्थिक, सामाजिक, वातावरणीय तथा विकास क्षेत्रमा पारेको असर घटाएर स्वस्थ सहर निर्माण गर्न कामाडौँमा धुलोरहित महानगर कार्यक्रम कार्यान्वयनमा छ ।
यसका साथै, महानगरपालिकाले पुस महिनालाई ‘वायु प्रदुषण सचेतना’ महिनाका रुपमा कार्यक्रम सञ्चालन गर्दैछ ।
वायु गुणस्तर निगरानी उपकरण जडान भएसँगै मापन यन्त्रले दिने तथ्याङ्कले व्यक्तिलाई सचेत रहन सहयोग पुग्ने अपेक्षा पनि महानगरको छ ।
क्ल्यारिटी नोड–एस वायु गुणस्तर सेन्सरहरूले तत्काल अवस्थामा हावामा भएका पिएम २.५ को विवरण उपलब्ध गराउँछन् । सौर्य उर्जाबाट चल्ने यी उपकरणहरूबाट आएका तथ्यांकहरु उही समयमा महानगरपालिकाको ड्यास बोर्डमा पुग्छ ।
उपकरणले पठाउने प्रदुषणसम्बन्धी तथ्याङ्कलाई वेव पोर्टल र मोवाइल एप्लिकेसनका माध्यमबाट सर्वसाधारणको पहुँचमा पु¥याउने महानगरको योजना छ । मापन उपकरण राख्दा महानगरमा वायुमा धेरै धुलोका कण हुन सक्ने ठाउँलाई छानिएको महानगरले जनाएको छ ।
यन्त्र जडान गर्नु केवल प्रारम्भिक चरण भएकाले यसको प्रमुख चुनौती संकलित डेटा प्रयोग गरी प्रभावकारी नीतिहरू बनाउने र ती नीतिहरू कार्यान्वयन गर्ने हो ।
वायु प्रदूषणको मूल कारण पहिचान गरी दीर्घकालीन समाधानतर्फ ध्यान नदिने हो भने प्रचारमुखी पहलमा मात्रै सीमित हुने खतरा देखिन्छ भने दाता र महानगरको लगानी बालुवामा पानी मात्रै हुन सक्छ ।