News 24 Television
मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनी नेपालमा लगानी गर्न डराए : महामन्त्री थापा

काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले विदेशी कम्पनीहरुले नेपालमा लगानी गरेर कमाएको मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनीहरु नेपालमा लगानी गर्न डराइरहको बताएका छन् ।

मंगलवार मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले नेपालले विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गरिदियोस् भन्ने चाहेर मात्र उनीहरु लगानी गर्न नआउने बताए । सरकारले विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने वातावरण अझै बनाउन नसकेको उनको तर्क थियो ।

रोजगारी दिने काम सरकारको नभई निजी क्षेत्र भएको बताउँदै उनले त्यसका लागि सरकारले सहज वातावरण सिर्जना गरिदनुपर्ने बताए । नेपालमा एक आर्थिक वर्षमा पाँच लाख मानिसलाई रोजगारी दिनसक्ने गरी निजी क्षेत्रलाई चलायमान बनाउनुपर्ने उनकाे भनाइ छ ।

महामन्त्री थापाले भने, ‘हामी सबैले हाम्रा छोराछोरी यही नेपालमै बसुन् भनेर चाहिरहेका छौं । तर त्यसका लागि हामीले के गरेका छौं ? यसका लागि के गर्ने त अब ?  हामीले पाँच लाख मानिसलाई एक आर्थिक वर्षमा रोजगारी दिनुपर्छ । सिर्जना गर्नुपर्छ । हामी रोजगारीलाई वर्षमा नाप्दैनौं । राजश्व र विकास निर्माणमा जोड्छौं । यसरी हुदैन । रोजगारी सिर्जना सरकारले गर्न सक्दैन । रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको हो । तर सरकारले त्यसको लागि वातावरण बनाइदिनुपर्छ । रोजगारी सिर्जनाका गर्नको निजी क्षेत्रमा लगानी चाहिन्छ ।  कसैले दया गरेर त लगानी आउँदैन । नीजि क्षेत्रले मुनाफा गर्नुलाई समाजले जहिलेसम्म स्वीकार्दैन तबसम्म रोजगारी सिर्जना हुन सक्दैन । नेपालमा अहिले लगानी गरेर मुनाफा कमाएर बाहिर लग्न खोज्ने तीन कम्पनीहरुलाई सरकारले अवरोध सिर्जना गर्दा उनीहरु र अन्य कम्पनीहरुपनि  नेपलामा लगानी गर्न डराईरहेका छन् । ती कम्पनीहरुको नाम लिन म पनि डराइरहेका छु । हामीलाई फाइदा चाहिएको छ । तर हामीले वातावरण बनाउन सकिरहेका छैनौं ।’

उनले नेपालमा दुई दलीय संयन्त्रमा बनेको सरकारले रोजगारीको मुद्दालाई प्रतिष्पर्धाको विषय बनाउनुपर्ने समेत बताए । सबै राजनीतिक दलहरुले २०८४ को मात्र कुरा गर्ने भन्दै अहिलेको जिम्मा कसले लिने हो ? उनले प्रश्न गरे । बाँकी रहेको तीन वर्षमा आफूले पाएको जिम्मेवारी सबै राजनीतिक दलहरुले पूरा गर्नुपर्ने थापाकाे भनाइ छ । 

सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका नेपाली कम्पनीहरुलाई विदेशी मुद्रा सटही गरेर नेपाल बाहिर पनि लगानी गर्न दिनुपर्नेमा पनि उनले जाेड दिए । 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update