
काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोरखशमशेर राणा नियुक्त भएका छन् । पूर्वराजा वीरेन्द्र शाहका ज्वाइँ रहेका राणा उक्त बैंकको प्रमुख कार्यकारी अधिकृत बन्ने पहिलोपटक नेपाली नागरिक हुन् ।
बैंक सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले राणालाई बैंकको सीईओमा नियुक्त गरेको हो । राणा यसअघि उक्त बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) थिए । विदेशी लगानी रहेको बैंकमा विगतदेखि नै सीईओ पनि विदेशी नागरिक नै हुने गर्दथे ।
निवर्तमान सीईओ अनिर्भान घोष दस्तिदारको कार्यकाल सकिएपछि राणा योग्यता क्रमकै आधारमा उक्त बैंकको सीईओमा पुग्न सफल भएका हुन् । उनको कार्यकाल आउँदो जनवरी १ देखि ४ वर्षका लागि लागू हुने छ ।
स्व. राजा वीरेन्द्र शाह छोरी श्रुति शाहका श्रीमान् रहेका राणाले सन् १९९६ देखि स्ट्यान्डर्ड चार्टर्डबाटै बैकिङ करिअर सुरु गरेका थिए । २०५८ जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा परी श्रतिको पनि निधन भएको थियो ।