काठमाडौँ । काठमाडौँको जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा शुरु भएको छ । भक्तपुर नगरको ऐतिहाकि महत्व बोकेको जीवित रुपमा पुजिने प्रसिद्ध नवदुर्गा भवानीको जात्रा जयवागेश्वरीमा शुरु भएको हाे ।
सोमवार रातिबाट नवदुर्गा भवानीको जात्रा शुरु भएको हो । जात्रामा भक्तजनको उल्लेख्य भीड रहेको थियो । जात्रा आज रातिसम्म मनाइन्छ । मध्यरातसम्म भवानीको पूजा हुने भवानी जात्रामा तान्त्रिक विधिद्वारा पूजाअर्चना गर्ने गरिन्छ ।
भवानी जात्रामा तान्त्रिक अनुष्ठान गर्ने गरिन्छ । वर्षको ८ महिनासम्मको मकुण्डोसहितको जात्रा हरेक वर्ष यसै समयमा दुई दिन पशुपतिनाथ मन्दिर र नवदुर्गा देवगणको भेटघाट तथा प्रसाद आदानप्रदान हुन्छ । पशुपतिनाथका मुल पुजारीबाट नवदुर्गा भवानीलाई पूजा गरी पशुपतिको जल र मुल प्रसाद भैरवको हातमा चढाउने चलन रहेको पाइन्छ ।
पशुपतिको मुलचोकमा देवगणको नाचसँगै भित्रका सम्पूर्ण देवताहरूलाई भेटघाट गर्ने र पूर्वपट्टिको गुजेश्वरी देवतालाई नाचको रूपमा भेट गरी दक्षिणतर्फ रहेको शिवालय चोकमा मुः बाहाँं लिकेगु जात्रा गरी पशुपति विकास क्षेत्रको मूल पूजा ग्रहण गर्ने चलन छ ।
यसैगरी, जयवागेश्वरी मन्दिरमा पुगेर यस वर्षको सर्वप्रथम माछा मार्ने जात्राको लागि खः जुयेगु (बास बस्ने) र रात्रिको नाच प्रदर्शन गर्ने चलन रहेको पाइन्छ । सोही दिन भोलिपल्ट बिहानदेखि बाराही नाच, सिम दुमको माछा मार्ने नाचसँगै महाकाली नाच र सेतो भैरवले माछा मार्ने जात्रा गरी बेलुकासम्ममा सम्पूर्ण नाच सम्पन्न गरी पुनः भक्तपुर नपामा फर्किने चलन छ ।
सोही स्थानमा देवगणहरूले आफ्नो देवताको मकुण्डो, पोशाकदेखि आवश्यक सामानहरू खर्पन अथवा खमुमा राखेर बोक्दै जानुपर्ने परम्परा अहिलेसम्म छ । - न्युज एजेन्सी नेपाल