काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको स्वास्थ्य परीक्षण गरी रिपोर्ट पेस गर्न आदेश दिएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका रवि र छविले आफूहरूको स्वास्थ्य अवस्था ठीक नहुँदा पनि प्रहरीले अमानवीय व्यवहार गरेको इजलासलाई जानकारी गराएपछि अदालतले दुवैको स्वास्थ्य परीक्षण गर्न आदेश दिएको हो ।
कास्की जिल्ला अदालतले हिरासतमा रहेका व्यक्तिको मानव अधिकार हनन हुने कार्य नगर्न भन्दै प्रहरीलाई अदालतले आदेश दिइएको छ । आदेशमा रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचाप देखिएको जानकारी आएकाले स्वास्थ्य परीक्षण गरेर प्रतिवदेन अदालतमा पेस गर्नु भनिएको छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट अवैध तरिकाले गोर्खा मिडिया नेटर्वक प्रालिमा रकम लगेको भन्दै परेको जाहेरीका आधारमा अनुसन्धान गर्न लामिछाने र जोशी प्रहरी हिरासतमा छन् ।
आइतवार हिरासत बसाईको म्याद सकिने भएपछि अनुसन्धानका लागि थप म्याद थप्न अदालत उपस्थित गराउँदा रवि र छबि दुवैले आफूहरूमाथि अमानवीय व्यवहार भएको बताएका थिए ।
चितवनमा प्रहरीले आफुलाई अमानवीय व्यवहार गरेको र स्वास्थ्य अवस्था समेत ख्याल नगरेको रविले आरोप लगाएका छन् । रविलाई चितवनबाट पोखरा ल्याएपछि स्वास्थ्य परीक्षण गर्दा उनको रक्तचाप १८०÷९० थियो । यो तहको रक्तचाप एकदमै उच्च हो ।
पर्सामा पनि बयान
रविविरुद्ध वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको मुद्दामा जिल्ला अदालत पर्साले पनि पक्राउ पुर्जी दिएको छ । रविलाई सोमबार बेलुकीसम्म काठमाडौं ल्याई हवाई मार्गबाट पर्सा लैजाने तयारी प्रहरीले गरेको छ । तर बुधवार चितवनमा सहारा सहकारीको बचत अपचलनको मुद्धामा बयान सकिएपछि रातको समयमा प्रहरीले मानव अधिकार समेत उल्लंघन गरी काँस्की पु¥याएको भन्दै त्यसको चौतर्फी आलोचना भएको छ ।
रातको समयमा आफुलाई आराम गर्न दिन अनुरोध गर्दा र स्वाथ्य परिक्षणको माग राख्दा पनि प्रहरी नमानी रातको समयमा पोखरा ल्याएको र बिहिबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप रहेको मानव अधिकार समक्ष रविले बयान दिएका छन् । रविको बयान र प्रहरी प्रशासनसँग यस बिषयमा सोधपुछ गरी आफु निचोडमा पुग्ने मानव अधिकारकर्मीको भनाइ छ ।
केही दिन पहिला हिरासतमै रहेका लामिछानेलाई भेट्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत पुगेका थिए । भट्टराईले पनि लामिछाने माथि राज्यले प्रतिसोध साँधे जस्तो देखिएको प्रतिक्रिया दिएका थिए ।
भट्टराईमात्रै होइन, सत्तारुढ दलकै नेताहरुले पनि रविमाथि राज्यले ज्यादती गरेको भन्दै लोकतन्त्रमा यस्ता कुरा शोभनीय नहुने अभिव्यक्ति दिएका छन् ।
लामिछाने माथि प्रहरीले मानवअधिकार उलंघन गरेको भन्दै रास्वापाले पनि यस बिषयमा अनुसन्धान गर्नका लागि उजुरी दिएको छ ।
राज्य र प्रहरी प्रशासनले लामिछाने माथि गरेको अमानविय व्यवहारलाई अन्तराष्ट्रिय मानव अधिकार आयोगमा पनि प्रश्नहरु उठाईने रास्वापाका नेताहरुले बताएका छन् ।
झापाबाट ओलीको ‘मिसाइल’
भ्यूटावर उद्घाटन गर्न आइतवार झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली उतैबाट रविविरुद्ध खनिएका छन् ।
देश चलाउन सहकारी ठगेको जस्तो नहुने प्रधानमन्त्री ओलीको टिप्पणी थियो । रास्वपालाई नै लक्षित गर्दै उनले नयाँ राजनीतिक शक्तिहरुलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा समेत दिए ।
प्रधानमन्त्री ओलीले झुट र भ्रम फैल्याएर अराजकता मच्चाउनेलाई सरकारले नछोड्ने चेतवानी पनि दिए । लोकतन्त्रलाई अझ सुदृढ गर्ने तर मास्न नदिने उनको जिकिर छ ।