News 24 Television
गढीमाई मेलामा दर्शनार्थीको भीड, बलिबारे रोचक तथ्य

बारा । बारा जिल्लाको बरियापुरमा जारी गढीमाई मेलामा बलि सुरु भएको छ । रौतहटको सिम्री गाउँबाट आएका तान्त्रिक उमाशंकर कछडियाले आइतबार सबैरै विधिपूर्वक पूजा अर्चना गरेपछि बलि सुरु भएको छ । 

गढीमाई मेलामा मङ्सिर शुक्ल पक्षको पञ्चमीदेखि अष्टमीसम्म गढीमाई भगवतीको मन्दिरमा पाँच बर्से मेलाको विशेष पूजाआजा गरिन्छ । पञ्चमीका दिन खप्पर पूजा गरिने प्रचलन रहेको छ ।

पाँच वर्षमा लाग्ने गढीमाई मेलामा हजारौंको संख्यामा राँगा तथा बोकाको बलि दिइन्छ। गढीमाईमा आफूले भाकल गरेका कुरा पुरा भइसकेपछि बलि दिने चलन रहिआएको छ । 

तिथि अनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका तान्त्रिकले गढीमाई मन्दिर नजिकै रहेको ब्रह्मस्थानमा तान्त्रिक विधिद्वारा पञ्चबलिका रूपमा बोका, राँगा, जङ्गली मुसा, सुँगुर र कुखुराको बली दिएपछि सर्वसाधरणको लागि बली खुल्ला भएको हो । 

यसअघि नरवलीको रुपमा तान्त्रिकले आफ्नो शरीरको निधार, कान, जिब्रो, दाहिने छाती, दाहिने तिघ्रा गरी ५ अंगबाट रगत निकालेर गढीमाई मातालाई चढाएका थिए । उनले रगत चढाएपछि सो ठाउँमा बत्ती स्वप्रज्वलित हुन्छ । 

यसलाई गढीमाई माता आएको प्रतिकको रुपमा लिईन्छ । बलि चढाउन आएका भक्तजनहरुले गढीमाई माताले आफ्नो मनकामना पूरा गरेपछि बलि चढाउन आएको बताउँछन् ।

गढीमाईको मेला प्रत्येक पाँच वर्षमा मङ्सिर शुक्ल पक्षमा लाग्ने गर्छ । मेला लाग्ने सालको असार महिनाको सोही तिथिमा झाँक्रीले लक्ष्मणरेखा लगाई गढीमाईको सीमा निर्धारण गर्छन् । 

सीमा निर्धारणपछि यस क्षेत्रका चेलीबेटी सो सिमानाभन्दा बाहिर जान पाउँदैनन् । मेलापछि पूर्णिमाको दिन गढीस्थान नजिकै रहेको संसारीमाईको मन्दिरमा बोकाको बलि दिएर झाँक्रीले सिमाना फुकाउँछन् । 

त्यसपछि मात्र सो क्षेत्रमा चेलीबेटी आउन जाने क्रम सुरु हुन्छ । पहिले पहिले बनारसका डोम राजा हरिश्चन्द्रका सन्तानले बनारसबाट ल्याएका राँगाको बलि दिएर बलीको सुरुवात गर्ने गरियता पनि अहिले यो क्रम बन्द छ । 

आइतबार बिहान ब्रमस्थानमा बोका, मुसा, कुखुरा, परेवा र सुंगुरको बलि दिएपछि मौलो पुजा गरिएको थियो । सो मौलो पुजा पछि सोही स्थानमा पाँचवटा राँगाको बली दिइएपछि सर्वसाधारणलाई बली खुल्ला गरिएको हो ।

बलि दिन भनेर नेपाल तथा भारतका विभिन्न स्थानहरूबाट शनिबारदेखिनै ठूलो संख्यामा राजा राँगा तथा बोकाहरू दर्शनार्थीहरुले मेला क्षेत्रभित्र ल्याइरहेका छन् । यो वर्ष आइतबार बिहानसम्म ५ हजारभन्दा बढी राँगा बलिका ल्याइएको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ । 

पञ्चबलिस्वरूप बलि दिइने दुर्लभ प्रजातिको सेतो जङ्गली मुसाको लागि पुजारीले भगवती मन्दिरमा पूजा गरेपछि पूजाको अक्षता लिएर मानिसहरूलाई जङ्गल पठाउँछ । 

शुभ अक्षता मुसा पाइने सम्भावित क्षेत्रहरूमा मुसाको दुलो नजिक छरेपछि एक जोडी सेतामुसा आएर अक्षता खाने र अक्षता खाएपछि उनीहरुले आउने मानिसहरुलाई सहज रुपमा समात्ने दिने पुजारीहरूको भनाइ छ । मेलामा यसपटक राँगा बलि दिन २०० हाराहारी स्वयंसेवकहरू मेला समितिले खटाएको छ । 

पुजारीहरूका अनुसार क्षमेलाको समयमा कसैको घरमा जुठो परेर भाकल गरिएको बलि दिन नपाएको अवस्थामा सोही वर्षको माघेसङ्क्रान्ति वा फागुपूर्णिमा (होली) का दिनसम्म भाकल गरिएको बलि दिइने गरिन्छ । त्यसपछि पाँच वर्षसम्म गढीमाई भगवतीका नाममा कुनै किसिमको बलि दिइँदैन । 

बलि प्रथा रोक्न देशविदेशबाट विभिन्न अभियान चलाइए पनि मानिसको आस्था र भक्ति अनि विश्वाससँग जोडिएको हुनाले यसलाई रोक्न कठिन बनेको बताइन्छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update