News 24 Television
५ दिनसम्म पोखरामा पर्वतीय महोत्सवको रौनक 

कास्की । पर्वतीय क्षेत्रको अवस्थालाई बुझाउन तथा पर्वतीय वातावरण संरक्षणमा जोड दिँदै दीगो पर्वतीय विकास गर्न भन्दै आईतबारदेखि पोखरामा ९औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु भएको छ । 

विशेष गरी पछिल्लो समय जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा उत्पन्न भएको नकारात्मक असर, त्यसले पर्ने प्रभाव तथा न्यूनीकरणमा मानिसको भूमिका लगायतको विषय मुख्य रहेको छ ।

५ दिन सम्म चल्ने महोत्सवमा पर्वतीय क्षेत्रसँग सम्वन्धित रहेर त्यहाँको जनजीवन, रहनसहन, पर्वतारोहण, जोखिम तथा जलवायु परिवर्तनका विषयमा विभिन्न अन्तरक्रिया र समूह छलफल हुनेछ । 

जलवायु परिवर्तनले पारेको नकारात्मक असरका कारण अहिले सिंगो विश्वलाई नै चिन्तित बनाइदिएको छ । यता पर्वतीय पर्यटनको अथाह सम्भावना भएको नेपालमा पनि बेलैमा वातावरण सन्तुलन गर्न नसकिए अझै ठूलो क्षति हुने विज्ञहरुले बताउँदै आएका छन् । 

जलवायु परिवर्तनले पर्यटनमा मात्र होइन नेपालकै अर्थतन्त्रलाई निकै ठूलो असर पार्ने जलवायु परिवर्तन विषेशज्ञ शालु अधिकारी बताउँछन् । 

नेपालमा पर्यटकहरू भित्रिनेमा यहाँका पर्वतीय क्षेत्रहरूको भूमिका मुख्य छ । पर्वतीय क्षेत्र घुम्नकै लागि नेपालमा वर्षेनी लाखौं पर्यटकहरू आउने गर्छन् । यसले पनि यो पुष्टि गर्छ कि पर्वतीय पर्यटनमार्फत् देशको अर्थतन्त्रलाई ठूलो टेवा मिलेको छ । पर्वतीय पर्यटनको क्षेत्रमा धेरै काम गर्नुपर्ने भएपनि अन्तर्राष्ट्रिय स्तरमै नेपालको पर्वतीय क्षेत्र परिचित गराउनुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताउँछन् । 

पर्वतीय क्षेत्रमा जति सम्भावनाहरू छन्, त्यति नै समस्याहरू पनि छन् । पछिल्लो समय विदेशी पर्यटकलाई आकर्षण गर्ने सेताम्मे हिमाल अहिले काला पत्थरमा परवर्तन हुन थालिसकेका छन् । 

ट्रेकिङ रुटमै फोहोरका थुप्रोहरु देखिन थालेका छन् । जलवायु परिवर्तन रोक्न सरसफाइलाई ध्यान दिई वातावरण स्वच्छ राख्नुपर्ने र स्वच्छताका लागि नागरिक सचेतना बढाउनु पर्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउँछन् । 

वार्षिक १२ लाखको संख्यामा नेपाल भित्रिने पर्यटकहरूमध्ये उल्लेख्य संख्यामा पर्वतीय पर्यटकसँग सम्बन्धित छन् । पर्वतीय पर्यटनसँग सम्बन्धित यस्ता खालका महोत्सवले यस क्षेत्रका समस्या, चुनौती र सम्भावनालाई केलाउँदै जलवायु परिवर्तन रोक्न र नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा मिल्ने विश्वास लिईएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update