News 24 Television
रविलाई थप ४ दिन हिरासतमा राख्न म्याद थप

काठमाडौँ । विभिन्न सहकारीहरुको बचत रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्ने गरी म्याद थपिएको छ । 

आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएर लामिछानेमाथि थप अनुसन्धानका लागि म्याद थप्न प्रस्ताव गरेको थियो । सरकारी वकिल कार्यालयले थप १३ दिनको म्याद मागेकोमा अदालतले भने ४ दिनको मात्रै म्याद थप्न अनुमति दिएको हो ।

कास्कीको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा अवैध रुपमा ल्याएर खर्च गरेको अभियोगमा लामिछाने गत कार्तिक २ गते पक्राउ परेका थिए । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् भने यसबिचमा बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा चितवन सहकारीको रकम अपचलनमा पनि मुछिएर ती ती स्थानमा  बयानका लागि उपस्थित गराइसकिएको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update