News 24 Television
नेपाल आँखा अस्पतालको सेवाः एकै वर्षमा२ लाख बढी 

काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले चालू आर्थिक वर्षमा दुई लाख सेवाग्राहीलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा एक लाख ६२ हजार बिरामीलाई सेवा उपलब्ध गराएको अस्पतालले चालू आवमा थप ४० हजारभन्दा बढीलाई सेवा प्रवाह गर्ने लक्ष्य लिएको हो ।

अस्पतालको २०औँ वार्षिक साधारणसभामा अस्पतालले गत आवमा १० हजारको आँखाको विभिन्न खाले शल्यक्रिया गरेकामा चालु आवमा बढाएर १५ हजार पु¥याउने लक्ष्य लिइएको जानकारी दिएको छ । 

गत वर्ष अस्पतालले सात सय ६० जनालाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको थियो भने ८० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकलाई उपचार सेवामा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिँदै आएको छ । अस्पतालले गत आवमा तीन करोड तीन लाख ७५ हजार रकम बचत गरेको छ । 

आँखाका बिरामीलाई सरल, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने सिलसिलामा  निकट भविष्यमै बिमा प्रणालीलाई समावेश गर्ने तथा विधान संशोधनसम्बन्धी कार्य तीन महिनाभित्रै पूरा गरिने अस्पताल सञ्चालक समितिले जनाएको छ । 

त्यस्तै, स्थापनाको ५१औँ वर्षमा रहेको अस्पतालले विशेषज्ञसहित एक सय २६ कर्मचारीमार्फत आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्दैआएको छ । अस्पतालले निजी क्षेत्रबाट चश्मा बिक्रीमा हुन सक्ने मूल्य वृद्धिलाई रोकी बजार मूल्य नियन्त्रण गर्न चश्मा पसल सञ्चालन गर्दै आएको छ ।

हाल अस्पतालमा दैनिक चार सयदेखि सात सय जनालाई बहिरङ्ग सेवा दिइँदै आएको छ । अस्पतालले विद्यालय स्तरका विद्यार्थीहरूको पनि आँखा जाँच गरी निःशुल्क चस्मा प्रदान गर्ने गरेको छ । अस्पतालले विभिन्न प्रकारका जनशक्ति उत्पादन गर्दै आएको छ ।  

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत एमडी, अप्टोमेट्री र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत नेत्र सहायक तालिम जस्ता कार्यक्रमहरू समेत अस्पतालले गर्दै आएको छ । 

विशिष्ट सेवाको फेलोसिप तालिमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्य समेत अस्पतालले लिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update