News 24 Television
कांग्रेसमा मच्चियो खतरनाक बबण्डर ! शेखर–गगनको पौठेजोरी

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन समयमै गर्ला ? यसको धेरै चिन्ता कसैलाई छ भने त्यो कांग्रेस नेता शेखर कोइरालालाई नै छ । कोइरालाले समयमै महाधिवेशन गराउन दबाब दिदै आएका छन् । 

दबाबकै निरन्तरताका बीच उनले शनिबारदेखि शुरु कोशीको प्रदेश सम्मेलन नै बहिस्कार गरेका त होइनन् भन्ने टिप्पणी हुन थालेको छ । महाधिवेशनकै नामको विवादका बीच कांग्रेसको आन्तरिक राजनीति र अबको बाटो कस्तो बन्ला त ? 

नेपाली कांग्रेसमा संस्थापन र इतर पक्षले चर्को रुपमा गुटबन्दी गर्दै काम गर्ने गर्छ । कांग्रेसमा नेताहरुले आफ्ना भनाइ राख्ने मात्रे होइन, पार्टीकै निर्णय समेत उल्लङ्घन सगौरव गरिदिन्छन् । 

यसैको पेरिफेरिमा चलिरहेको नेपाली कांग्रेसको कोशी प्रदेशको सम्मेलनमा समेत नोकझोक र घोचपेच तीब्र रुपले चल्यो । कांग्रेस नेताहरुले तुष मात्रै पोखेनन्, उनीहरुले एकताको कुरा पनि गरे । तर, अहिलेको सरकारमा कांग्रेसको सहभागीता र चीनसँग भएको बीआरआई सम्झौता नै केन्द्रमा छ ।

यस्तोमा कांग्रेस नेताहरुले बीआरआईदेखि विभिन्न विषयमा टिकाटिप्पणी गरेका छन् । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले राम्रो काम गरेको भन्दै प्रसंसा गरे भने चीनबाट ओलीले लिएर आएको सन्देशका लागि धन्यवाद समेत दिए ।

कोशी प्रदेश सम्मेलनमा शीर्ष नेताहरु जम्मा भएपनि इतर पक्षका नेता डा. शेखर कोइराला भने बैठकमा सहभागी भएनन् । उनी पार्टी केन्द्रसँग रुष्ट छन् । आफुले गरेको भेलालाई अवैध भनिएपछि चिढिएका उनी पार्टी नेतृत्वमा आफू जाने दाबी मात्रै गरिरहेका छैनन्, आफ्नो समूहमा रहेका गगन थापाबारे समेत प्रष्टीकरण दिए ।

कोइरालाले पार्टीको विषयमा मात्रै नभई सरकारको समेत आलोचना गरे । सुशासनको पक्षमा काम गर्न नसकेको र संविधान संशोधनको विषयमा प्रवेश गर्न नसकेकोमा उनी रुष्ट देखिन्छन् । 

यसरी नेताहरु एकीकृत नबन्दा महामन्त्री गगन थापा भने सबैलाई मिलाएर लैजानुपर्ने आवश्यकता औल्याइरहेका छन् । गगनले सबैलाई सम्मान हुने गरि वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे । गगनको यस्तो धारणामा सभापति देउवाले भने व्यङ्ग्य कसे ।

कांग्रेस प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि दुई चिरामा विभक्त हुने सम्भावना पनि उत्तिकै छ । गगन थापासहित देउवा पक्षका केहि नेताहरुले नै बीआरआई सम्झौतामा दुखमनाउ गरिरहेका छन् भने देउवा र परराष्ट्रमन्त्री आरजु रक्षामा उत्रिएका छन् । देउवा ओलीको कामलाई धन्यवाद दिनमा व्यस्त हुँदा अन्य नेताहरुले भने गाईगुई गरिरहेका छन । यस्तो स्थितिले कांग्रेसमा बेमेल थप उत्कर्षमा पुग्ला ? यो विषयमा चासो बढेको छ । 

कांग्रेसको शक्ति सन्तुलन बिग्रिन पुगेका सत्ता गठबन्धन समेत लामो समय जान कठिन हुने भएकाले कांग्रेसको आन्तरिक राजनीतिमा देखिने समस्यालाई समेत चासोका साथ हेरिएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update