News 24 Television
गढीमाई मेलामा जाँदै हुनुहुन्छ ? चोरीमा पर्नुहोला, के गर्ने ?

बारा । हरेक पाँच वर्षमा लाग्ने बाराको महागढीमाई मेलाको बली दिने दिन नजिकिएसँगै दर्शनार्थीको भीड लाग्न थालेको छ । दर्शनार्थीको भीडसँगै चोरीका घटना समेत बढ्न थालेका छन भने मेलाको सुरक्षाका लागि सुरक्षाकर्मीको प्रयास पूर्ण हुन सकेको छैन् । 

गढीमाई मेलामा शनिबारदेखि अत्याधिक भिड बढेको छ । विशेषगरी आइतबार र सोमबार बली दिने भएकाले एकैपटक लाखौंको संख्यामा दर्शनार्थीहरु गढीमाइमा आइरहेका छन् । गढीमाइ मन्दिरमा शनिबार मात्रै ५ लाख बढि दर्शनार्थीहरु दर्शन गर्न आएका मेला व्यवस्थापन समितिको अनुमान छ । 

मेलामा नेपालका विभिन्न जिल्ला तथा भारत लगायतका देशहरुबाट दर्शनार्थीहरु आइरहेका छन् । तर मेलामा आउनेहरु चोरी, पकेटमारी तथा लुटपाटको सिकार भइरहेका छन् । 

चोरहरुले दर्शनार्थीका झोला लुट्ने, मोवाइल, पैसा लगायतका जन्य सामाग्रीहरु चोरी गर्ने गरेका गुनासो बढ्न थालेको छ । गढीमाइको दर्शन गर्न आएकाहरु चोरीको शिकार बनेपछि कसरी घर फर्कर्ने भन्ने तनावमा छन् ।

मेलाको सुरक्षाको लागि भन्दै ठुलो संख्यामा सुरक्षाकर्मीहरु मेलास्थल वरपर परिचालन गरिएका छन् । नेपाल प्रहरीले चोरी तथा लुटपाटका घटना रोक्न सादा पोशाकका प्रहरी परिचालन गरेपनि चोरीका घटनामा कमी नभएको दर्शनार्थीहरुको गुनासो छ ।

यता मेला व्यवस्थापन समिति भने आफुहरुले सुरक्षामा कुनै कमजोरी नगरेको र चोरीका कारण अलपत्र परेकाहरुलाई घर फर्काउने जिम्मा लिने बताइरहेको छ ।

मेलाको सुरक्षाका लागि महागढीमाइ नगरपालिकाका नगर प्रहरी र म्यादी प्रहरी पनि परिचालन गरेको छ । भने बारा प्रहरीका अनुसार चोरी तथा लुटपाटका घटनामा संग्लनहरुलाई पक्राउ गरेर पीडितको सामानहरु फर्काइरहेको बताएको छ । शनिबारसम्म चोरीमा संग्लन १ सय बढिलाई पक्राउ गरेको र चोरीका सामानहरु फिर्ता गराइएको प्रहरीले जनाएको छ । 

मेलामा हुने चोरी नियन्त्रण गर्न र सुरक्षाको लागि मेला स्थल वरपर २ सय ५० बढि सिसिटिभी क्यामेरा जडान गरिएको छ । सिसिटिभीकै मद्धतले प्रहरीले चोरीमा संलग्नको पहिचान गरिरहेको दाबी गरिरहेको छ । 

मेलामा आउँदा चोरी तथा लुटपाटका घटना बढ्न सक्ने भन्दै वहुमुल्य गहनाहरु नल्याउन, धेरै नगद नबोक्न, भिर्ने झोला बोक्दा चनाखो हुन प्रहरीले सुझाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update