News 24 Television
बीआरआईको हुण्डरीले नेताहरु तितरवितर, भित्री योजना यस्ता !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको बीआरआई सम्झौताका विभिन्न आयामहरुमा विमर्श शुरु भएको छ । कांग्रेसले चिच्याएरै बीआरआईमा ऋण लिन नसकिने जिकिर गरिरहेको छ, भने एमाले नेतृत्व पनि यहि लयमा देखिन्छ । तर, सम्झौतामा ऋण अनुदानको विषय प्रष्ट नभएको अवस्थामा बीआरआई परियोजना कसरी अघि बढ्ला ? अन्योलता थप बढिरहेको छ । 

चिनियाँ महत्वकांक्षी परियोजना बीआरआई फ्रेमवर्कमा सम्झौता भएपछि यो विषयमा अनेक तर्कहरु अघि सारिएका छन् । 

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा अन्तिम समयमा आएर बनेको सम्झौताका विषयमा कांग्रेसले यसलाई सहमति, समान धारणा र गठबन्धनको मर्मअनुसार नै भएको दाबी गरिरहेको छ भने परराष्ट्रमन्त्री आरजु राणा देउवाले त अनावश्यक तर्क वितर्क गर्नै नहुने जिकिर गरेकी छन् ।

आरजुले भनेजस्तै कांग्रेस नेताहरु पनि चीनसँगको सम्झौतामा ऋणको विषय नै नभएको तर्क गर्नेमा केन्द्रित छ । कोशी प्रदेशको सम्मेलनमा पुगेका नेताहरुले पनि यहि विषयमा धारणा राखेका छन् । गृहमन्त्री रमेश लेखकले बीआरआईमा समान धारणा, सहमति र सहकार्यको दिशाबाटै अघि बढाइएको जिकिर गरेका छन् । 

यस्तै, बीआरआईबारे गठबन्धनमा समान धारणा बनाउने कार्यदलमा कांग्रेसकोतर्फबाट रहेका महामन्त्री गगन थापा एक कदम अघि बढेर चीनले पोखरा विमानस्थलका लागि दिएको ऋण अहिलेसम्मकै खराब ऋणको रुपमा ब्याख्या गरेका छन् भने कांग्रेसले चिनियाँ ऋणको पासोमा मुलुकलाई पर्नै नदिने भन्दै कडा अभिव्यक्ति दिएका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्री केपी ओलीप्रति सकारात्मक नै  देखिन्छन् । कांग्रेसले यसरी अभिव्यक्ति दिदै गर्दा बीआरआईबारे साझा धारणा बनाउने कार्यदलको विज्ञ सदस्यको रुपमा गगनले भित्र्याएका सेमन्त दाहाल पनि बीआरआईमा ऋण कि अनुदान भन्ने विषयमा बहस पैरवी गरिरहेका छन् । 

दाहालले बीआरआईमा नेपालले ऋण वा अनुदान आफ्नो इच्छाले लिन पाउने दाबी गरे । बीआरआईको विषयमा प्रधानमन्त्री केपी ओलीले पनि ऋण सम्झौता नभएको प्रष्ट पारिरहेका छन् भने बीआरआई सम्झौता हुनु सुखद् विषय भएको अन्य वामपन्थी दलहरुले पनि प्रतिक्रिया दिन थालेका छन् । 

चीन भ्रमण सकेर नेपाल फर्किएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले पनि तयारी नै नगरी चीनमा बीआरआई सम्झौता गरेपनि सुखद् भनेका हुन् ।

नेताहरुको चीन दौड

बीआरआई सम्झौता भएपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि चीन पुगेका छन् । चीनमा नेता श्रेष्ठले गर्ने राजनीतिक भेटवार्ता र अन्य विषयलाई नजिकबाट हेरिएको छ, भने जनमत पार्टीका अध्यक्ष सीके राउत पनि चीनमै छन् । 

चीनको विकास देखेर आफू चकित बनेको भनिरहेका सीकेले बीआरआईबारे के भन्छन् भन्ने विषय पनि उत्तिकै पेचिलो बन्नेछ । यता, कांग्रेसले बीआरआईबारे ऋण भर्सेस अनुदानको विषय बनाउदै गर्दा वामपन्थी दलहरुले वैकल्पिक सरकारको विषयमा समेत छलफल गर्न थालेको हल्ला चल्न थालेको छ ।

कांग्रेसले बीआरआईलाई अनुदानमात्रै भन्नेभन्दा पनि महामन्त्री गगन थापाले पोखरा विमानस्थलमा चिनियाँ ऋण अहिलेसम्मकै खराव भन्ने अभिव्यक्ति दिएपछि यो विषय थप पेचिलो बन्ने संकेत देखिन थालेको छ । 

चीनले पोखरा विमानस्थललाई समेत बीआरआई अन्तर्गत भन्ने गरेको छ । यस्तोमा कांग्रेसले लिन थालेको राजनीतिक अडान र बीआरआईबारेको धारणाले यो विषय थप पेचिलो बन्नेछ । 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update