काठमाडौं । नेपाली काँग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र गुट तथा उपगुटहरु सक्रिय हुन थालेका छन् । यतिबेला काँग्रेसको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई चुनौति दिएका शेखर कोइरालाले समानन्तर गतिविधि गरिरहेको देखिन्छ ।
नेपाली काँग्रेस कोशी प्रदेश सम्मेलन मंसिर २२ गते शनिबार तोकिएपनि नेता शेखर कोइरालालले भने मंसिर १८ गते नै आफ्ना पक्षका पालिका सभापतिहरूको भेला गरे । विराटनगरको जैन भवनमा आयोजित कोइराला पक्षको भेलालाई डा. मीनेन्द्र रिजाल, गुरु घिमिरे, राजीव कोइरालालगायतका नेताहरुले साथ दिए । उक्त सभालाई सम्बोधन गरेका नेता मिनेन्द्र रिजालले पार्टीभित्रका विकृतिहरुको उजागर गरे ।
सोही दिन कोइराला पक्षका जिल्ला सभापतिहरूले बेलबारीको बेतनादेखि लोहन्द्रा खोला पुलसम्म पदयात्रा पनि गरेका थिए । तर शेखर पक्षको यो गतिविधिलाई भने काँग्रेस संस्थापन पक्षले अवैधानिक भनेको छ ।
काँग्रेस केन्द्रीय कार्यालयले गरेको निर्णयमा मंसिर २२ गते अघि पार्टीको कुनै प्रदेशस्तरिय सम्मेलन नभएको जनाइएको थियो । साथै संस्थापन पक्षले उक्त भेलालाई रोक्न निर्देशन पनि दिएकोमा शेखर पक्षले भने त्यसको अवज्ञा गरेको बताइन्छ । यही विवादकाबीच भेला गरेका कोइरालाले आफ्नो पक्षमा खुलेका पालिका सभापतिहरुको भौतिक सुरक्षाको जिम्मा लिनेसम्मको ढाडस दिए ।
यही गतिविधिले अझ गहिरिएको काँग्रेस संस्थापन र कोइराला पक्षबीचको विवाद प्रदेश सम्मेलन बहिस्कारसम्मको अवस्थामा पुगेको छ । संस्थापन पक्षले शनिबार काँग्रेस कोशी प्रदेश सम्मेलनको उद्घाटन गरिरहेको बेला शेखर कोइराला पक्षले भने यस्को बहिस्कार गरेको छ ।
सम्मेलनको उद्घाटनका लागि सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरु विराटनगरमा पुगे । तर शेखर कोइराला भने वरियतामा चित्त नबुझेको भन्दै चितवनतर्फ लागेको हुन् ।
गगनको ‘मूड चेञ्ज’
काँग्रेसको १४औँ महाधिवेशनमा गगन थापा डां शेखर कोइराला पक्षबाटै महामन्त्रीमा निर्वाचित भएका हुन् । त्यसअघि गगन कृष्णप्रसाद सिटौटा पक्षमा थिए । तर पछिल्लो समय गगन संस्थापन पक्षतर्फ ढल्किएका छन् । काँग्रेस–माओवादी गठबन्धनको सरकार रहँदा पनि संस्थापन पक्षको कडा आलोचक रहेका गगनले महासमिति बैठकमा निर्वाचन अघि कुनै दलसँग गठबन्धन नगर्ने प्रस्ताव पेश गरेका थिए ।
जुन प्रस्ताव पार्टीको आधिकारिक धारणा बन्दा तत्कालीन गठबन्धन नै टुटेको थियो । गठबन्धन टुटेकै कारण गगन काँग्रेसभित्र आलोचनाको सिकार बनेका थिए । तर पछिल्लो समय गगन र सभापति शेरबहादुर देउवाको निकटता बढेको छ । भने शेखरसँग गगनको दूरी बढेको देखिन्छ ।
यस्तोमा शेखर र गगन दुवैले आफू अनुकुलका कार्यक्रमहरु गरिरहेका छन् । शेखर संस्थापन पक्षसँग भिडेर अघि बढ्ने मुडमा देखिन्छन् । तर उता गगन भने आँफै संस्थापन बनेर पार्टीको नेतृत्वमा पुग्ने मुडमा पुगेका छन् ।
सभापतिमा शेखर–गगनकै प्रतिस्पर्धा !
यसअघि देखि नै काँग्रेसको नेतृत्व गर्ने चाह बोकेका डा. शेखर कोइराला आउँदो महाधिवेशनमा पुनः सभापतिको दावेदारी पेश गर्ने तयारीमा छन् । त्यसैले उनी वर्तमान सरकारमाथि प्रश्न र पार्टीमै समानान्तर गतिविधि बढाइरहेका छन् ।
१४औँ महाधिवेशनमा देउवासँगै पराजित शेखर अब कुनै हालतमा पार्टी नेतृत्वमा आइछाड्ने वातावरण सृजना गरिरहेका छन् । उता शेखरकै पक्षमा रहेर संसदीय दलको नेतामा समेत देउवालाई चुनौति दिएका गगन पनि अबको अब आउने महाधिवेशनबाटै देउवाको स्थान लिने मनस्थितिमा रहेको बताइन्छ । पछिल्लो समय देउवाले पनि गगनलाई काँध हालिरहेका छन् ।
यही मेसोमा गगनले वर्तमान गठबन्धनबाटै काँग्रेसको तर्फबाट सरकारको नेतृत्व गर्ने चर्चा पनि छ । तर यो योजना सफल भने भइसकेको छैन । तर जे होस् पछिल्लो गतिधिले गगन थापा शेरबहादुर देउवाको मन जितरे पार्टी नेतृत्व हत्याउने रणनीतिमै देखिन्छन्् । तर यस्तोमा देउवाले गगनलाई कस्तो रेस्पोन्स त्यो हेर्न बाँकी छ ।
गगनले चाहे अनुसार नै देउवाले अवसर दिए गगनको प्रतिस्पर्धा शेखरसँगै नहोला भन्न सकिने अवस्था छैन ।