बारा । बारा जिल्लाको बरियारपुरमा लाग्ने विश्वप्रसिद्ध गढीमाई मेलामा अहिले दर्शनार्थीहरूको घुइँचो लागेको छ । देश विदेशका लाखौंको संख्यामा आउने दर्शनार्थीहरूको भिडले भरिपूर्ण गढीमाई मेला बलिको लागि पनि त्यतिकै चर्चित रहेको छ ।
ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्वले भरिपुर्ण यस मन्दिरमा आफुले मागेको कुरा पुरा हुने जनविश्वास रहिआएको छ । गढीमाई भगवतीको मन्दिर बारा जिल्लाको सदरमुकाम कलैयादेखि आठ किलोमिटर पूर्व महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको छ ।
गढीमाई भगवती स्थापनाबारे एउटा प्रचलित किवदन्ती रहेको छ । किंवदन्ती अनुसार करिब ८ सय वर्ष अगाडि बरियारपुर निवासी भगवान चौधरीको घरमा चोरी गर्न आएको चोरलाई गाउँलेले समातेपछि भिडले कुटेर मारिदियो । त्यसको सम्पूर्ण दोष भगवान चौधरीमाथि लगाइयो ।
कर्तव्य ज्यानको मुद्दामा भगवान चौधरीलाई काठमाडौंँ चलान गरियो । सोझो र ईश्वरभक्त चौधरी जेल परेपछि पनि उनीप्रतिको आस्था र विश्वासमा कुनै कमी नआएको र जेलमै रहेका बेला भगवान चौधरीलाई सपनामा देवीले दर्शन दिएर आफूलाई चौधरीको गाउँमा लैजान भनेको किम्वदन्ती छ ।
गढीमाई देवीको चमत्कारले चौधरी जेलमुक्त भएको र उनैले भगवतीको त्रिशुल गाडेर गढीमाई मन्दिरको स्थापना गरेको बताइन्छ । अहिले पनि गढीमाई मन्दिरमा उनै चौधरीका सन्तान पुजारी रहने व्यवस्था रहेको छ ।
गढीमाई मन्दिरमा पवित्र मनले पूजा अर्चना गरे सन्तान प्राप्ति हुने, रोग निको हुने, सुस्वास्थ र दीर्घायू हुने र धान्य प्राप्ति हुने लगायत सबै चाहना तथा भाकल पूरा हुने जनविश्वास रहेको छ । गढीमाई मातामा साँच्चिकै शक्ति भएको र आफूहरुको मनकामना पूरा भएकोले विश्वास अझै बढेको दर्शनार्थीहरु बताउँछन् ।
पाँच वर्षमा एकपटक लाग्ने गढीमाई मेलामा हजारौंको संख्यामा राँगा तथा बोकाको बलि दिइन्छ । आफूले भाकल गरेका कुरा पुरा भइसकेपछि बलि दिने चलन रहिआएको छ ।
तिथि अनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका तान्त्रिकले सबैभन्दा पहिले तान्त्रिक विधिद्वारा आफ्नो शरीरको निधार, कान, जिब्रो, दाहिने छाती, दाहिने तिघ्रा गरी ५ अंगबाट रगत निकालेर नरबलि चढाएपछि पञ्चबलिका रूपमा बोका, राँगा, जङ्गली मुसा, सुँगुर र कुखुराको बली दिएपछि मात्र सर्वसाधरणको लागि बली खुल्ला हुन्छ ।
राँगा बली दिने स्थल निश्चित भएपनि बोका बली भने खुल्ला स्थलमै दिन सकिन्छ । गढीमाई भगवतीलाई केन्द्रबिन्दु मानेर मेलाको समयमा चारैतर्फ नौ किलोमिटर सिमाना निर्धारण गरेर सो सीमाभित्र जुनकुनै ठाउँमा बलि दिन सकिन्छ ।
भक्तजनहरुले बलिका लागि ल्याईएका रागालाई ब्रम्हस्थान सँगैको (रङ्गशाला) वंधशालामा संकलन गरेर समितिले तोकेका स्वयंसेवकद्वारा घरेलु हतियार खुडा खुकुरी तरबारले शिर छेदन गरेर बलि दिने गरेका छन् । यो वर्ष मंसिर २३ र २४ गते बलि दिइने मेला व्यवस्थापन समितिले जनाएको छ ।