News 24 Television
बीआरआईमा प्रधानमन्त्री ओलीलाई देउवाको दरिलो साथ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण सकेर फर्किएपछि उनको भ्रमणको समिक्षा शुरु भएको छ । ओलीले चीनमा गरेको बीआरआई सम्झौतामा सत्तारुढ दल नेपाली कांग्रेसले नै आशंकाको दृष्टीले हेरेको छ भने प्रधानमन्त्री ओली गठबन्धनलाई आश्वस्त पार्न उद्दत छन् । किन गठबन्धनमा यस्तो दरारको संकेत देखा प¥यो त ? 

प्रधानमन्त्री केपी ओली चडार दिने चीनको औपचारिक भ्रमण सकेर नेपाल फर्किसकेका छन् । उनले चीन भ्रमणको बेला बीआरआई सम्झौता गरेको विषयलाई रक्षात्मक ढंगले पेश गर्दै गर्दा कांग्रेस नेताहरु भने शंकामा छन् । 

ओलीले चीन भ्रमणलाई विवादीत बनाउने काम गर्न दक्षिणका सञ्चार माध्यमले भूमिका खेलेको आरोप समेत लगाए । तर, उनले चीनसँग ऋण लिने गरि कुनै सम्झौता नभएको दाबी गरे । 

उसोतः कांग्रेस सभापति शेरबहादुर देउवा भने प्रधानमन्त्री केपी ओलीले चीनसँग ऋण सम्झौता नगरेको भन्दै धन्यवाद दिन पुगे । कांग्रेसभित्रै सम्झौताप्रति आशंका गरिरहेका नेताहरुलाई उनले त्यस्तो केही होइन भन्दै सम्झाइरहेका छन् । 

ओलीले चीनसँग ऋण सम्झौता नभएको दाबी गरेपनि उनले चिनियाँसगको सम्झौताले प्रश्न उठ्छ भन्नेमा सचेतता भने अपनाउने भरपुर कोसिस गरे । सम्झौतापछि सत्ता गठबन्धनको आयुमा पनि प्रश्न उठ्ने भएकै कारण उनले आफू जम्मा १८ महिना प्रधानमन्त्री बन्ने र त्योपछिको प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा नै भएको भन्दै कांग्रेस नभड्कियोस भनेर आश्वस्त पारेका छन् । 

ओलीले यस्तो जिकिर गर्नुको पछाडीको कारण हो, देउवालाई निश्चित राख्न सकियोस् र ऋण सुन्नै नचाहने कांग्रेस नेताहरुलाई अनुदानको पक्षमा काम भएको भन्न सकियोस् भन्ने । तर, कांग्रेस नेताहरुले प्रधानमन्त्रीको तहमा सम्झौताको कुनै विषय समावेश नहुनु र रातारात शब्द तलमाथि गरेरै भएपनि एड फाइनान्सिङ भन्ने शब्द राखेर बीआरआईमा सम्झौता गर्नुमा शंका दृष्टिले हेरिरहेका छन् ।  

कांग्रेसका केहि नेताहरुले एड फाइनान्सिङको अर्थ पहिल्याउदै धोका भएको भन्न थालेका छन् । कांग्रेस प्रवक्ता समेत रहेका नेता डा. प्रकाशशरण महत, उपसभापति पूर्णबहादुर खड्का, पूर्वपरराष्ट्रमन्त्री एनपी साउद लगायतका केहि नेताहरुले सत्तारुढ दल एमालेले जालझेल त गरेन भन्ने दृष्टीले हेरेका छन भने देउवा भने चीनलाई धेरै चलाउन नहुने भएका कारण विरोध खास नगर्ने लाइनमा देखिएका छन् । 

राजनीतिक जीवनको उत्तरार्द्धमा रहेको र प्रधानमन्त्रीको पालो कुरिरहेका कारण पनि उनी सफ्ट कर्नर राख्नेमा पर्छन् । तर, कांग्रेसले भने बीआरआईलाई नै लिएर शंकाको वातावरण बनेको भन्दै चर्काउन थालेको छ । 

कांग्रेसको इतर पक्षको रणनीतिको प्रभाव

कांग्रेसको इतर पक्ष छुट्टै भेलादेखि पार्टीमा पकड जमाउने नीतिमा जुटेको छ । कोशीमा भएको छुट्टै भेलामा कांग्रेस नेता डा. शेखर कोइरालाले आफ्नो पक्षमा खुलेका नेताहरुको सुरक्षा आफूले गर्ने जिम्मा नै लिए । 

कोइरालाले पार्टी सभापति बन्ने दौडलाई तीब्र बनाउदै लगेका छन् भने सरकारको समेत चर्को आलोचना गरिरहेका छन् । यस्तोमा उनले आफ्ना पक्षमा उभिने कार्यकर्ता र नेताहरुलाई ढुक्कले काम गर्न भनिरहेका छन् । 

कोइरालाले बीआरआई सम्झौता र कांग्रेसको रणनीतिबारे अहिले नै धारणा सार्वजनिक गर्ने स्थिति भने छैन । उनको समूहमा रहेका महामन्त्री गगन थापा देउवाको पक्षमा उभिन पुगेपछि उनीहरुले रणनीतिक ढंगले नै कदम चाल्ने स्थिति छ । तर, देउवाको पक्षमा देखिन थालेका गगन थापा अबको उत्तराधिकारी हो भन्ने प्रश्नमा भने उनले घोषणा गरेर नहुने जवाफ दिए । 

पार्टीको इतर पक्षले गरिरहेको चलखेललाई नजिकबाट नियालीरहेका देउवाले शेखरको भेलाबारे आफूलाई जानकारी नभएको दाबी समेत गरेका छन् । 

पार्टी नेतृत्वको दौडका कारण पनि सत्ता गठबन्धनभित्रको भविष्यमा धेरै विषय पर्नेछन् । यस्तोमा बीआरआई सम्झौतामा कांग्रेसको धारणा बन्ने विषय समेत यसैको वरिपरि घुम्नेमा शंका छैन् । 

कार्यसम्पादन समिति बैठक 

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी सोमबारका लागि आह्वान गरेको छ । प्रधानमन्त्रीको चीन भ्रमणपछि भएको बीआरआई सम्झौता, उपचुनावको नतिजा, गण्डकी प्रदेशको समानुपाति सांसद सिफारिस लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । 

यस्तोमा कार्यसम्पादन समितिको बैठक केहि दिन पछि धकेलेर डाक्नुको कारण नै बीआरआई सम्झौतामा नेताहरुले दिने प्रतिक्रियालाई नै रणनीतिको रुपमा लिइएको छ । यस्तोमा देउवाले कसरी चाल चल्छन कांग्रेस वृत्तमा चासोको विषय छ । तर, बीआरआईमा एड फाइनान्सिङ भन्दै गरिएको सम्झौताले प्रधानमन्त्री ओलीले दाबी गरेजस्तो अनुदानमात्रैको विषय भने पक्कै पर्दैन् । 

जुन विषियलाई कांग्रेस नेताहरुले राम्ररी बुझेका पनि छन् । एड फाइनान्सिङ भनेर ऋण अनुदान नेपालको आवश्यकताको आधारमा हुने एमाले नेताहरुले बताउन थालिसकको स्थितिमा समेत गठबन्धन दलभित्रै आशंकाका बादलहरु भने मडारिन थालेका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update