News 24 Television
स्वयम्भूको डाँडाबाट भुटानी नरेशले काठमाडौँ नियाल्दा 

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले नेपालको अनौपचारि भ्रमण गरेर फर्किएका छन् । केहि समय पहिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा रातो कार्पेट बिछ्याएका भुटानी राजाको नेपाल प्रवेशलाई नीजि भ्रमणको रुपमा लिइएपनि यसको रणनीतिक प्रभाव कस्तो रहला ? 

केहि घण्टाको नेपाल भ्रमण गरेर फर्किएका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा रानी तेत्सुन पेमा वाङचुकसहित नेपाल आए । उनले काठमाडौंमा आएर स्वयम्भू, बौद्धको दर्शन गरे । 

भुटानी राजालाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेकी थिइन् । विमानस्थलबाट भुटानी राजा सिनामंगल–तिनकुने–नयाँबानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भू गएका थिए । 

पूजा र प्रार्थनापछि उनले त्यहाँ फोटो खिचाएका थिए । त्यसपछि उनी स्वयम्भूबाटै बौद्ध प्रस्थान गरेका थिए । बौद्धमा पूजा गरिसकेपछि उनी करिब २ः४० बजे फिर्ता भएका हुन् । स्वयम्भुमा भुटानका राजा पुगेपछि सरसफाईदेखि स्वागतको कार्यक्रममा चुस्त काम गरिएको स्वयम्भु व्यवस्थापन तथा संरक्षण महासमितिको भनाई छ । 

सुरक्षा व्यवस्थामा कडाई

 भुटानी राजा नेपाल आउने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको थियो । भुटानी राजालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा दिन नेपाली सेनाले रिहर्सल नै गरेको थियो भने अनौपचारिक भ्रमणमा समेत सरकारले परराष्ट्रमन्त्री पठाएर उनलाई स्वागत गरेको छ । सरकारले भुटानी राजाको स्वागतमा परराष्ट्रमन्त्री नै पठाउनु र नेपाल र भुटानको सम्बन्ध खास राम्रो हुन नसक्नुलाई समेत विभिन्न अर्थबाट हेरिएको छ भने भुटान भारतबाट निर्देशित हुने गरेको समेत आरोप लाग्ने गर्छ । यस्तोमा भुटानी राजा नेपाल आउँदा परराष्ट्रमन्त्री विमानस्थलसम्म पुग्नुलाई समेत आश्चार्यको रुपमा हेरिएको छ । 

पूर्वराजा ज्ञानेन्द्रलाई त्यो रेड कार्पेट

गएको असोज २७ मा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह पाँच सदस्यीय टोलीसहित भुटान पुगेका थिए । ड्रुक एयरमार्फत भुटान पुगेका ज्ञानेन्द्रलाई भुटानकी राजकुमारीले स्वागत गरेकी थिइन भने उनलाई त्यहाँ रेडकार्पेट विछ्याएर सम्मान गरिएको थियो । 

निजी भ्रमणका लागि भन्दै शाह भुटान पुगेपनि उनले राजनीतिक अर्थ दिने गरि राजपरिवारदेखि उच्च अधिकारीसँग भेट गरेका थिए । जसको चर्चा नेपालमा मात्रै नभएर विभिन्न देशमा भएको थियो । भने शाह भुटानको भ्रमणमा उनै भुटानी राजा जिग्मेको निमन्त्रणमा गएका थिए । 

भुटान भ्रमण पनि भारतीय संस्थापनको सन्देश लिन गएको अर्थमा लिइएको थियो । भने ज्ञानेन्द्रलाई भुटानमा गरिएको स्वागत र नेपाल आएका जिग्मेमाथि कांग्रेस सभापति पत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा विमानस्थलसम्मै पुग्नुलाई समेत अर्थपूर्ण भनिएको छ । 

भुटानी राजालाई अर्वपति व्यवसायी विनोद चौधरी र उनका तीन भाई छोरा समेतले बौद्ध पुगेर भेटेका छन् । नेपालको पूर्वराजपरिवारसँग पनि नजिक हुँदै व्यापारिक साम्राज्य फैलाएको विश्लेषण हुने गरेका चौधरी परिवारको भुटानी राजासँगको यो भेट पनि अर्थपूर्ण छ ।  

भुटानी राजाको नेपाल साइनो

भुटानका राजा जिग्मे नेपालमा जन्मिएका हुन् । उनी काठमाडौंको थापाथलीस्थित प्रशुतिगृहमा जन्मिएका हुन् । उनले नेपाली प्रतिनिधिहरुसँग समेत आफू नेपालमा जन्मिएकाले भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्ने गरेका छन् । राजा जिग्मेको सन् १९८० मा नेपालको प्रसूति गृहमा जन्म भएको थियो । उनकी आमा छिरङ योङ दोनलेको इच्छाअनुसार उनको जन्म नेपालमा भएको बताइन्छ । 

नेपालको प्रशुति अस्पताल राम्रो भएकाले उनको आमाले सन्तान जन्माउन नेपाल रोजेको समेत बताइन्छ । उसोतः जानकारहरुका अनुसार तत्कालिन रानी छिरङले हलेसी महादेवको मन्दिरमा पूजा गरेको र पुत्रका रुपमा जिग्मेको जन्म भएको पनि बताइन्छ । त्यतिबेला राजा वीरेन्द्रले भुटानी राजपरिवारप्रति सहयोग तथा सद्भाव राखेका थिए। दुबै देशका राजपरिवारबीच घनिष्ठ सम्बन्ध थियो । 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update