काठमाडौँ । विभिन्न सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा करिब २ महिनादेखि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि काँग्रेस–एमालेको सत्ताले राजनीतिक प्रतिशोध साँधेको विषय थप प्रष्ट हुँदै गएको छ । सहकारी ठगीमा संलग्न रहेको भन्दै मिथ्या आरोपमा पक्राउ गरिएको भए पनि लामिछाने सहकारीको वास्तविक ऋणी, बचतकर्ता वा सञ्चालक नभएको भन्ने त संसदीय विशेष छानबिन समितिले नै स्पष्ट पारिसकेको कुरा हो ।
विभिन्न सहकारीको रकम गोर्खा मिडियामा ल्याउने प्रमुख भूमिका ती सहकारीका सञ्चालक समेत रहेका जीबी राईको देखिएको भन्दै समितिको प्रतिवेदनमै स्पष्ट उल्लेख हुँदा पनि उनलाई पक्राउ नगरेर सरकारले सहकारी पीडितहरुका मागप्रति बेवास्ता गरिरहेको छ । तर राजनीतिक प्रतिशोधका आधारमा रवि लामिछानेलाई हिरासतमा राखेर रातारात विभिन्न जिल्ला डुलाउँदै दुःख दिइरहेको रास्वपाका नेताहरुले बताएका छन् । उनले तत्कालीन गोर्खा मिडियाको प्रबन्ध निर्देशकको हैसियतमा कम्पनीमा आएको रकम खर्च गर्न चेक काटेकै भरमा यति लामो समय हिरासतमा राखेर म्याद थप्ने काम राज्यले गरिरहेको उनीहरु बताउँछन् ।
गत कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएका लामिछानेलाई कास्की, पर्सा, काठमाडौँ र चितवन जिल्ला अदालतमा समेत उपस्थित गराएर बयान लिइएको छ । काठमाडौँबाट चितवन लगिएका लामिछानेलाई त्यहाँ बयान सकेर राति आराम समेत गर्न नदिई रातारात पोखरा लगिएपछि रास्वपा नेताहरुले मानव अधिकारवादी संस्थाहरुको ध्यानाकर्षण गराएका छन् । थुनुवाको अधिकार हनन हुनेगरी न्युनतम मानवीय मर्यादा समेत नराखेर रविलाई प्रहरी प्रशासनले दुःख दिने काम गरिरहेको उनीहरुको आरोप छ । यसैबीच नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि रविलाई राजनीतिक प्रतिशोध साँधेर अनावश्यक दुःख दिने काम भइरहेको बताएका छन् ।
शुक्रबार बिहान डा. भट्टराईले कास्की प्रहरीको हिरासतमै पुगेर लामिछानेलाई भेटेका थिए । भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले लामिछानेलाई अस्वाभाविक रुपमा दुःख दिने काम भइरहेको र यो अन्यायपूर्ण रहेको बताएका हुन् । आफूहरुले नयाँ शक्तिको अभियान शुरु गरेपछि थप नयाँ राजनीतिक शक्तिहरुको उदय भइरहेको र नयाँ शक्तिकै सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा आफूले रविलाई चिनेको उनको भनाइ थियो । सहकारीको रकम अपचलन गर्नेहरु प्रायः सरकारमा रहने ठूला राजनीतिक दलहरुकै वरपर संरक्षणमा रहेको बताउँदै भट्टराईले रविमाथि प्रतिशोध साँधेकै आभास भएको बताए । उनले त्यही कारण रास्वपाको मागप्रति ऐक्यबद्धता जनाउन आफू रविलाई भेट्न पुगेको बताए । सहकारी पीडितलाई न्याय दिनुपर्ने कामबाट सरकार विमुख भएर मुद्दालाई विषयान्तर गर्ने काम गरिरहेको उनको भनाइ छ ।
वास्तविक सहकारी ठगहरुलाई सरकारमै संलग्न दलका मान्छेहरुले कि भगाएको छ या संरक्षण गरिरहेको छ । दैनिक महिनौँसम्म सहकारी पीडितहरुले न्यायको आवाज उठाइरहँदा पनि जीबी राईजस्ता सहकारी ठगीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको र धनराज गुरुङजस्ता आरोपित नेतामाथि अनुसन्धानसम्म नगरेको आरोप सरकारमाथि लागेको छ । तर एकोहोरो रवि लामिछाने नै सहकारी ठग हो भन्नेजसरी सत्ता गठबन्धनद्वारा प्रचार भइरहेको मात्र छैन, सिलसिलेवार विभिन्न जिल्लामा पुरक जाहेरी दर्ता गराएर जिल्ला घुमाउने र हिरासतको म्याद थपेर दुःख दिने काम समेत भइरहेको भन्दै रास्वपाले आन्दोलन समेत जारी राखेको छ ।
पछिल्लो समय रास्वपा सभापति लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पर्सा जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरिएको छ । सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । तर त्यसमा पनि जीबी राई नै मुख्य रुपमा जोडिएका छन् । जीबी समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको अनुसन्धानबाट खुले पनि जीबीलाई नै पक्राउ गर्न सरकार असफल भएको छ । विदेश फरार भएका राईलाई पक्राउ नगरेसम्म उनी जोडिएका विभिन्न सहकारीका पीडितहरुले न्याय पाउने समेत देखिँदैन ।