काठमाडौँ । चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित निकालेको छ । जितको लागि १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभर ५ बलमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो ।
कर्णालीका ओपनरद्वय शिखर धवन र देव खनालले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे । देव खनाल २५ रन जोड्दै आउट भए । यसपछि शिखर धवनले चाडविक वाल्टनसँग दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गर्दै कर्णालीको जितलाई सहज बनाए ।
धवनले ४१ बल खेल्दै ४ चौका र १ छकमका सहित ४५ रन जोडे । अर्धशतकबाट मात्र ५ रनले चुके । तर चाडविक ३० रन जोडेर रवि बोपराको बलमा एलबिडब्लु धरापमा परेपछि कर्णाली दबाबमा आयो । अन्तिम ओभरमा ९ रन चाहिँदा ३ बलमा ६ रन जोडेपछि चौथो बलमा अर्जुन घर्ती रन आउट भए । तर पाँचौ बलमा जिसन मकशुदले चौका प्रहार गर्दा एक बल अगाडि ४ विकेट गुमाएर कर्णालीलाई जित दिलाए । जिसन मकशुदले अविजित अविजित १२ रन बनाए । बलिङमा कुशल मल्ल, जान निकोल र रवि बोपराले समान १-१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन मात्र बनायो । खराब शुरूवात गरेको चितवनले ३ विकेट गुमाउँदा २२ रन मात्र बनाएको थियो । लुक बेनमकेन्सटाइन रनको खाता नखोली आउट भए भने दीपक बोहरा ८ रनमा र विपिन रावल ११ रनमा पबिलियन फर्किए। यसपछि रवि बोपरा र कप्तान कुशल मल्लले चौथो विकेटको लागि ६० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने कोशिस गरे ।
कुशल २३ रनमा आउट भए । रविले अर्धशतकीय पारी खेल्दै अविजित ५९ रनको पारी खेले । उनले ४० बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । यसपछि अन्य खेलाडीहरूले दोहोरो रन छुन सकेनन् । बलिङमा विपिन शर्माले ३ र जुसन मक्सुदले २ विकेट लिए । तीन खेलमा कर्णालीले पहिलो जित हात पार्दै अंकको खाता खोलेको छ । तेस्रो खेल खेलेको चितवनको भने यो पहिलो हार हो । यसअघि दुई खेल जितेको चितवनसँग ४ अंक रहेको छ