News 24 Television
विविध कोणबाट एमालेको विश्लेषण, किन आएन सोचेअनुसार मत ?

काठमाडौं । उपनिर्वाचनको नजिजासँगै विभिन्न दलहरुले आ–आफ्नै कोणबाट भिन्न–भिन्न विश्लेषण गरिरहेका छन् । यस्तोमा माओवादी केन्द्र उत्साहीत देखिन्छ भने, संसदको सबैभन्दा ठूलो दल काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले निर्वाचन परिणामप्रति समीक्षा गर्ने मोडमा छन् । उपनिर्वाचन परिणामले काँग्रेलाई पहिलो दल बन्न नरोकेपनि सन्तोष बनाउन सकेको छैन । 

त्यस्तै एमाले पनि उपनिर्वाचनको परिणामले तेस्रो दल बन्नुपर्दा बेखुस बन्नुपरिरहेको स्थिति छ । विशेषगरी यो उपनिर्वाचनको नतिजाले एमालेका केही जिद्दीपूर्ण तर्कहरुहरुलाई भने जवाफ दिएको छ । काँग्रेससँगको गठबन्धनपछि एमाले महासचिव शंकर पोखरेलले मुलुकको अस्थिरता रोक्न दुई दलिय व्यवस्था अपनाउनुपर्ने विषयलाई सशक्त जोड दिने गरेका छन् । तर यो मत परिणामले पोखरेल स्वयमलाई नराम्ररी जवाफ दिएको हो । 

त्यस्तै एमालेले आफूलाई सँधै कम्युनिष्ट दलहरुमध्ये सबैभन्दा ठूलो पार्टीको रुपमा लिने गर्दछ । तर यो उपनिर्वाचनको नतिजाले एमालेको यो धारणामाथि केही थ्रेट सिर्जना गराएको देखिन्छ । 

शंकर पोखरेलको विश्लेषण     

उपनिर्वाचन मत परिणाम आएसँगै एमाले महासचिव समेत रहेका शंकर पोखरेलले नतिजाबारे विश्लेषण गरेका छन् । महासचिव पोखरेलले उपचुनावको परिणामपछि एमाले तेस्रो भएको भन्ने विषयमा भइरहेको प्रचारलाई घुमाउरो ढंगले अस्वीकार गरेका छन् । तर एमालेको योजना र अपेक्षा अनुसार भने मत परिणाम आउन नसकेको तर्कलाई स्वीकार गरेका छन् । 

मुख्यतः उनले क्षेत्रगत राजनीतिक प्रभाव र विगतको परिणाम हेर्दा एमाले नहारेको तर्क गरेको देखिन्छ । एमालेले चुनाव जितेका ७ वडाध्यक्षको सिटमा मात्र उपचुनाव भएको तर्क गर्दै महासचिव पोखरेलले परिणामलाई पनि त्यसकै सेरोफेरोमा विश्लेषण गर्नुपर्ने तर्क गरेका छन् । 

यस्तोमा एमालेले एक अध्यक्ष, दुई उपाध्यक्ष सहित ५ वडाध्यक्ष जित्नुलाई नकारात्मक लिन नहुने पोखरेलको विश्लेषण छ । तर नेकपा (एमाले)का स्थानीय कमिटीको योजना र अपेक्षा अनुरुप भने चुनावी परिणाम आउन नसकेको अर्कोतर्फ उनी आँफै तर्क गर्छन । 

निर्वाचन परिणाम सोचेजस्तो नआउनुमा पछिल्लो समय सामाजिक संजालमा हुने गरेका नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धको कुप्रचार नै भएको पोखरेलको आरोप छ । 

समीक्षामा एमाले 

नेकपा एमाले संख्यात्मक रुपमा यो उपनिर्वाचनबाट तेस्रो स्थानमा कायम भएकै हो । तर उसले विगतमा नजितेका स्थानहरुमा पनि जित निकालेको र एमालेको ७ स्थानमा रिक्त रहेपनि उपनिर्वाचनबाट ८ ठाउँमा जित निकाल्नुलाई सन्तोषजनक मानेको छ । तर एमाले संसदको दोस्रो ठूलो दल हो । यद्यपि पार्टीको ‘स्ट्रेन्थ’ अनुसारको जित ननिकाल्नुलाई भने समीक्षा गर्नुपर्ने बेला भएको एमालेको निश्कर्ष छ । 

समग्रमा उपनिर्वाचनमा तेस्रो दल बनेको एमालेले पहिलो दल काँग्रेसले पनि साविकको केही स्थान गुमाएको औँल्याउँदा माओवादीले सुधार गरेको पक्षलाई स्वीकार गरेको देखिन्छ । तर यो उपनिर्वाचनमा खासगरी आफूहरुले केन्द्र स्तरबाट ध्यान दिन नसक्दा यसप्रकारको नतिजा आएको एमालेको ठम्याइ छ । 

रिक्त रहेका ४४ पदमा भएको उपनिर्वाचनले विकर्षण देखाएपछि एमाले एक ढंगले दवावमा परेको देखिन्छ । विगतका निर्वाचनमा सँधै पहिलो दल बन्ने धाक दिइरहने एमाले यो नतिजाले केही साइजमा आएको सहजै अनुमान गर्न सकिन्छ । 

यो उपनिर्वाचन परिणामले दलहरुको आगामी पूर्ण भविष्य त निर्धारण नगर्ला तर दोस्रो ठूलो दल एमालेलाई भने कुनै न कुनै रुपले दवाव सिर्जना गरेको प्रष्ट छ  ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update