काठमाडौं । नेपाल विद्युत प्राधिकरणकै इतिहासमा पहिलो पटक उर्जा मन्त्रीले आफ्नो कार्यकक्ष प्राधिकरणमै खोलेपछि अहिले चर्काे बहस भई रहेको छ ।
प्राधिकरणको अध्यक्ष उर्जा मन्त्री रहेकाले पनि प्राधिकरणमै मन्त्रीको कार्यकक्ष आवश्यकता रहेको जिकिर गर्दै उर्जामन्त्री दीपक खड्काले बचाउ गरेका छन् । तर उनको यो हर्कतलाई भने प्राधिकरणमा राजनीतिक हस्तक्षेप गर्न मन्त्रीले कदमको रुपमा लिइएको छ ।
उर्जामन्त्री दिपक खड्काका लागि मंगलबार बिद्युत प्राधिकरणमा रातारात कार्यकक्ष निर्माण भयो र बुधबार खड्काले आफैले उद्घाटन गर्दै तयार भएको कार्यकक्षमा बसे । नेपाल विद्युत् प्राधिकरणकै इतिहासमा प्राधिकरण भित्र मन्त्रीको कार्यकक्ष बनेको यो पहिलो घटना हो ।
उर्जा मन्त्री खड्काले प्राधिकरणको अध्यक्ष मन्त्री हुने र प्राधिकरणमा अध्यक्षका लागि कार्यकक्ष आवश्यक रहेको बताउँदै आफुमाथि लागेका आरोपहरुको खण्डन गरेका छन् । तर मन्त्रीको कदमलाई जानाकारवालाहरुले भने राजनीतिक हस्तक्षेत्रका रुपमा लिएका छन् ।
मन्त्री खड्का र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बीच सौहाद्रपूर्ण सम्बन्ध छैन । डेडिकेटेड तथा टं««कलाइनको विषयलाई लिएर यी दुईबीच शितयुद्ध चलेको लामै भइसक्यो ।
मन्त्री खड्का जसरी पनि कुलमानलाई हटाउन चाहन्छन्, यसमा खड्कालाई प्रधानमन्त्री ओलीको पनि समर्थन छ । तर कुलमानको पक्षमा रहेको नागरिक समर्थन र अदालतले चाल्न सक्ने कदमका कारण चाहेर पनि उर्जामन्त्रीले कुलमानलाई हटाउन सकिरहेका छैनन् ।
प्राधिकरणकै कतिपय उच्चपदस्थ कर्मचारीका लागि भवनमा स्थान अभावले कार्यकक्ष छैन । त्यसैले मन्त्रीले प्राधिकरणमै कार्यकक्ष बनाउनु उचित नभएको प्राधिकरणका सञ्चालक समितिका सदस्य कपिल आचार्य बताउँछन् ।
उर्जामन्त्री र कुलमानबीचको टसलमा माओवादी केन्द्रले कुलमानलाई च्याप्दै आएको छ । प्राधिकरणमा मन्त्रीले कार्यकक्ष बनाएपछि माओवादी केन्द्र आपत्ति जनाउँदै कुलमानको पक्षमा उभिएको छ । मन्त्रीको यो कदमको बिरोध गर्दै माओवादी केन्द्रले खबरदारी सभा नै गर्ने घोषणा गरेको छ ।
विवादित छबिका मन्त्री खड्को यो कदम प्राधिकरणमा राजनीतिक हस्तक्षेप गर्नकै लागि भएको देखिन्छ । प्राधिकरणमा मन्त्रीको कार्यकक्ष आवस्यक थियो कि थिएन यो त भविष्यमा देखिएला, तर विगतमा नेपाल स्काउटको जग्गालाई बर्षौंसम्म दादागिरी शैलीमा कब्जा जमाएका खड्काले अहिले विद्युत प्राधिकरणलाई पनि आफ्नो इसारामा चलाउनका लागि यस्तो कदम उठाएका त होइनन् चौतर्फी प्रश्न उठिरहेको छ ।