कास्की । पोखरा महानगरपालिकाको विशेष नगरसभा मंसिर २३ गते सम्मका लागि स्थगित भएको छ । पोखरा महानगरपालिकामा करार कर्मचारीसम्बन्धी विषयलाई लिएर एमालेबाट निर्वाचित वडाध्यक्षहरुले विशेष नगर सभा मागेपछि बिहीबार सभा सुरु भएको थियो ।
केन्द्रीय सत्तामा एकै ठाउँमा रहेका कांग्रेस एमाले पोखरामा भने कर्मचारीको विषयलाई लिएर दुइ धुर्व तर्फ फर्केका छन् । जसका कारण महानगर मेयर धनराज आचार्य दुई दलको चेपुवामा परेका छन् ।
पोखरा महानगरपालिकाको विषेष नगरसभा सुरु भएर उपमेयर मञ्जुदेवी गुरुङले स्वागत गरेलगत्तै मेयर धनराज आचार्यले थप छलफल गर्नुपर्ने भन्दै सभा २३ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए ।
गत कात्तिक १४ गते बसेको नगर कार्यपालिका बैठकले करारका २८ कर्मचारीसहित केही शिक्षक र सामाजिक परिचालकलाई हटाउने निर्णय गरेपछि एमालेका जनप्रतिनिधि र कर्मचारीहरु लामो समय आन्दोलित थिए ।
त्यसै सन्दर्भमा एमालेले ५ बुँदे प्रस्ताव पेश गर्दै विशेष नगर सभा माग गरेको थियो । नगर सभामा बहुमत रहेको एमालेले ३७ औं कार्यपालिकाको निर्णय खारेज गर्ने लगायतका प्रस्ताव मेयर आचार्यसँग राखेको थियो ।
महानगरले यसअघि नै गरेको दरबन्दी संरचनालाई स्थानीय सर्वेक्षण समिति गठन गरी पूर्ण प्रतिवेदन आगामी नगर सभामा पेश गर्ने एमालेको प्रस्ताव छ ।
प्रतिवेदन बमोजिम स्वीकृत दरबन्दी संरचना अनुसार स्थायी पदपूर्ति नभएसम्म हाल करार र ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीको करार सम्झौता नवीकरणबारे विशेष नगर सभामा छलफल गर्ने एमालेको प्रस्ताव थियो । साथै, एमालेले कार्यपालिकाको २५ औं बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धमा भएका निर्णय पूर्ण कार्यान्वयन गर्न प्रस्ताव गरेको थियो ।
मेयर आचार्यले राजनीतिक दलसंग छलफल गरेर निर्णयमा पुग्ने भन्दै आइतबार २३ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।महानगरपालिकाको स्वीकृत दरबन्दी संरचनामा नपरेका कर्मचारीलाई उनीहरुको पदाधिकार रहेकै कार्यालयमा काज फिर्ता गर्ने लगायतका माग पनि एमालेले राखेको छ ।
यसरी अन्य पालिकामा स्थायी नियुक्ति लिई पोखरा महानगरमा कार्यरत अवधिको आधारमा प्राप्त हुने सेवा, सुविधाको दायित्व महानगरले लिनु नहुने एमालेको अडान छ ।
विशेष नगर सभामा पोखरा सभागृह भवन निर्माण, महानगरको प्रशासकीय भवन निर्माण, पोखरा बसपार्क निर्माण, फेवातालको मापदण्ड कार्यान्वयन र फोहोरमैला व्यवस्थापनका लागि अत्याधुनिक प्रशोधन केन्द्र निर्माणबारे छलफल गरिनुपर्ने माग एमालेले राख्दै आएको छ ।
विशेष नगरसभाको औचित्य नभएको भन्दै कांग्रेसका वडाध्यक्ष एवं नगर सभा सदस्यहरुले विरोध गर्दै आएका थिए । कतिपय विषय अदालतमा विचाराधीन अवस्थामा रहेकाले अहिले विशेष सभाको औचित्य नभएको उनीहरुको तर्क थियो । बिहीबार नगर सभा सुरु हुनु अगावै कांग्रेसका जनप्रतिनिधिले सभास्थल पोखरा सभागृहमा विरोध एवं नारावाजी समेत गरेका थिए ।
केन्द्रीय र प्रदेश सरकारमा सहकार्य गरेका कांग्रेस र एमाले पोखरा महानगरमा भने कर्मचारीको विषयलाई लिएर प्रतिष्ठाको लडाइ लडिरहेका छन् । पोखरा महानगरमा ३ सय ६१ जनाको संघीय दरबन्दी छ । तर, पोखरा महानगरमा स्वास्थ्य महाशाखाबाहेकमा मात्र ७ सय ४७ जना कर्मचारी कार्यरत छन् ।