News 24 Television
उपचुनावले हौसिएको माओवादीको क्रान्तिकै हुँकार 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनबाट निकै हौसिएको छ । 

विगतमा कांग्रेस, एमाले सहितका दलहरुसँगको गठबन्धन बनाएर पार्टी जोगाएको आरोप खेप्दै आएको आएको माओवादी ४१ पदको उपचुनावमा ११ सिट जितेर हौसिएको हो । यो नतिजाकै कारण माओवादीले ८४ सालको आगाामी निर्वाचनमा एक्लै लड्ने हुँकार दिन थालेको छ । 

नेकपा एमालेको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताच्यूत भएपछि एमालेविरुद्ध निकै आक्रामक बनेका थिए । आफूले भ्रष्टाचारविरुद्ध अभियान थालेकै कारण सत्ताच्यूत गरिएको प्रचण्डले भाषणबाजी नै गर्दै हिँडे । 

श्वर्ग गए पनि सँगै र नर्क गए पनि सँगै भनेर ओलीले धोका दिएको भनी संसदमै उनले गुनासो गरेका थिए । तर सत्ताच्यूत भएकै बेला स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने अवसर पाएको माओवादी अप्रत्यासित नतिजा आएपछि हौसिएको छ । 

उपचुनावले पार्टीको बारेमा राम्रो सन्देश प्रवाह गरेको माओवादी केन्द्रले निस्कर्ष नै निकालेको छ । त्यसैले उसले आगाामी ८४ सालको निर्वाचन एक्लै लड्ने हुँकार दिन थालिसकेको छ । सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध कारबाही थालेकै कारण सत्ताच्यूत गरिएको विषयलाई फेरि पनि गाउँगाउँसम्म लैजाने तयारी माओवादीले थालेको छ । 

स्थानीय तहको निर्वाचनमा यसअघि आफैले जितेको रुकुम पूर्व पुथा उत्तरगंगा जोगाउन  माओवादी केन्द्रलाई हम्मेहम्मे थियो । सत्तारुढ कांग्रेस र एमाले मिलेर एउटै निर्वाचन चिन्हबाट लडेका थिए । तर पनि माओवादीले आफ्नो सिट सुरक्षित ग¥यो । 

माओवादीले े सोंच्दै नसोचेको मोरङको ग्रामथान नगरपालिकाको अध्यक्ष जित्यो भने काठमाडौंमा कुनै जनाधार नभए पनि माओवादी केन्द्र कीर्तिपुर नगरपालिकामा तेस्रो शक्ति बन्न पुग्यो । यहि नतिजाका कारण माओवादीले पुनः एकताको राग अलाप्न थालेको छ । 

उपनिर्वाचनको परिणामले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि निकै हौसिएका छन् । अप्रत्याशित परिणामकै जोशमा उनले क्रान्तिकारी लडाईँ जारी नै नै रहेको अभिब्यक्ति दिन थालेका छन् । 

स्थानीय तहको उपचुनावको रिपोर्टिङको समीक्षा गरेको माओवादीले आगामी केन्द्रीय समितिको बैठकबाट जनपरिचालनको विस्तृत कार्यक्रम ल्याउने जनाएको छ । 

आगामी निर्वाचन एक्लै लड्ने आधार तयार भएको निश्कर्ष निकालेको माओवादीले नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकतामा ल्याउने तयारी गरि नै रहेको छ । 

समाजवादी मोर्चा हुँदै पार्टी एकता प्रक्रियामा लैजाने यसअघिकै योजनालाई निरन्तरता दिने दाउ पनि माओवादी केन्द्रको देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update