News 24 Television
भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव सुरु  

रुपन्देही । रुपन्देहीको भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा महोत्सव सुरु भएको हो । 

स्थानीय उत्पादनको बजारीकरण र प्रबद्र्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने पर्यटन क्षेत्रको प्रचारप्रसारमा मद्दत गर्ने उद्देश्यसहित संघले महोत्सव आयोजना गरेको हो । 

विहीबारखि भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानून संशोधन गरेर भएपनि सरकारले लगानीको वातावरण बनाउने बताए । 

उनले मुलुकको आर्थिक अवस्था पहिलेको सुध्रिँदै गएको जनाउँदै व्यवसायीहरुलाई निराश नहुन आग्रह गरे । निजी क्षेत्रको मनोबल बढ्ने गरि काम गर्न सरकार अग्रसर रहेको पौडेलको भनाइ छ । 

उपप्रधानमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शंका नगर्न पनि आग्रह गरेका छन् । 

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले भैरहवालाई अझै पूर्वाधारयुक्त विकसित बनाउने गरी सरकारले लगानी गर्दै जाने बताए । निर्माणधिन आयोजना देखाउँदै निराशा छर्ने काम भएको उपप्रधानमन्त्री पौडेलको गुनासो समेत थियो । 

यहाँका उद्योगी ब्यवसायीहरुले भने अहिलेको अवस्था उद्योग–ब्यवसायमैत्री नभएको गुनासो गरेका छन् । सरकारले उद्योगी ब्यवसायीहरुको निराशालाई चिर्न नसकेको उनीहरुको भनाई छ ।

अहिले उद्योग–व्यवसाय धमाधम बन्द भइरहेको भन्दै यसलाई उकास्न जरुरी रहेको भन्दै उनीहरुले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएका छन् । सबै उत्पादनको एकैथलोमा प्रदर्शन हुने भएकाले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने ब्यवसायीहरुको विश्वास छ । 

मेलामा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय समेत सिक्ने उनीहरुको भनाई छ । महोत्सवमा ३ सय स्टल रहेका छन् । जसमा मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादनसम्म राखिएका छन् । 

नेपालका ४० जिल्लाका उत्पादन महोत्सवमा राखिएका छन् । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले निजी क्षेत्रको मनोबल बृद्धि गर्ने अपेक्षा गरिएको छ । 

महोत्सव उद्घाटनअघि करिब ३ सय संघसंस्थामा प्रतिनिधिको सहभागितामा भैरहवाको देवकोटाचोकदेखि बाजागा जासहित विभिन्न जातजातिको सांस्कृतिका झाँकीसहित र्याली निकालिएको थियो । 

महोत्सव आगामी पुस १ गतेसम्म संचालन हुनेछ । महोत्सवबाट करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update