News 24 Television
पाठेघरको मुखको क्यान्सर रोकथाम र नियन्त्रणको पहल

काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ५ लाख १० हजार महिला पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेका छन् । साथै पाठेघरको क्यान्सरकै कारण २ लाख भन्दा बढि महिलाको मृत्यु हुने गरेको छ । 

नेपालमा पनि पाठेघरको मुखको क्यान्सरको अवस्था उस्तै छ । नेपालमा हरेक वर्ष ३ हजार भन्दा बढि पाठेघरको क्यान्सरका नयाँ बिरामी थपिने गरेको छन् भने हरेक दिन ४ जना महिलाले  यहि रोगबाट ज्यान गुमाउने गरेका छन् । 

महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरको अवस्था जटिल बन्दै विषयलाई मध्यनजर गदै सरकारले रोकथाम र नियन्त्रणका लागि विभिन्न कदम चाल्ने गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि २ लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ । 

जसका लागि देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने तयारी सरकारले गरेको छ । जसका लागि फागुन महिनाभर देशैभर एकै साथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गरिदैछ । 

नेपालले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सरको परिक्षण ९० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । जसका लागि पनि सरकारले यो वर्ष देशभरका २ लाख भन्दा बढि महिलामा पाठेघरको मुखको क्यान्सरको परिक्षण गर्ने तयारी गरेको हो । 

चिकित्सकहरुका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्ने उपाय मध्ये खोप लगाउने र समयमै परिक्षण गर्नु नै हो । जसका लागि सरकारले क्यान्सरबिरुद्ध १६ लाख किशोरीलाई निःशुल्क खोप यसअघि प्रदान समेत गरिएको छ । साथै विश्व क्यान्सर दिवसका पारेर माघ २२ गतेबाट दुई सातासम्म १६ लाख किशोरीहरुलाई पाठेघरको क्यान्सरविरुद्धको निःशुल्क खोप अभियानसमेत संचालन गरिने भएको छ । 

जसमा ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप दिने योजना छ । सरकारको यो निर्णयले ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुनेछन् । चिकित्सकका अनुसार स्क्रिनिङको माध्यमबाट पाठेघरको क्यान्सरको सम्भावित संक्रमणबारे थाहा पाउन सकिन्छ । जसमा भी.आ.ई.ए टेष्ट, प्याप स्मेयर र एच.पी.बी डी.एन.ए परीक्षणबाट क्यान्सरको पहिचान गर्न सकिन्छ । 

चिकित्सकहरुका अनुसार पाठेघर मुखको क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ । तर यसको लागि समयमा पहिचान र उपचार  आवश्यक छ । पाठेघरको मुखको क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकारको विभिन्न कदम प्रशंसनीय छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update