News 24 Television
गढीमाई मेलामा साना ब्यवसायीहरु औधी खुशी

बारा । बाराको बरियारपुरमा प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेलाले व्यापार व्यावसाय पनि प्रवद्र्धत गर्न मद्दत गरेको छ । पछिल्लो समय आर्थिक मन्दीका कारण शिथिल बनेको अर्थतन्त्रलाई गढीमाई मेलाले चलायमान बनाउन मद्धत गरेको हो । मेलाले ठूला व्यवसायीलाई मात्र नभएर साना व्यवसायीहरुलाई पनि निकै फाइदा पुर्याइरहेको छ । 

पञ्चवर्षीय गढीमाई मेलामा अहिले नेपाल तथा भारत लगायत अन्य मुलुकहरूबाट ठूलो संख्यामा दर्शनार्थीहरु आइरहेका छन् । मेला व्यवस्थापन समितिका अनुसार हालसम्म २५ लाखभन्दा बढी दर्शनार्थीहरूले गढीमाई मन्दिरको दर्शन र मेला भ्रमण गरेका छन् । 

गढीमाई मेलामा आउने दर्शनार्थीहरूको चहलपहलले गर्दा अहिले मेला क्षेत्र वरिपरि ठूलो सङ्ख्यामा रहेका साना व्यापारीहरु पनि खुशी छन् । उनीहरूले सडक किनारमा सानो पसलहरू थापेर  व्यापार गरिरहेका छन् । सानो लगानीमा गरिएको व्यापारले पनि राम्रो कमाइ भइरहेको उनीहरुको भनाई छ ।

सडकको किनारमा व्यापार गर्न बसेका व्यापारीहरुले पूजा सामग्रीहरू, सजावटका सामग्रीहरु, बालबालिकाका खेलौना तथा कपडा र घरायसी सामानहरूको बिक्री वितरण गरिरहेका छन् । त्यसैगरी खाजा, पानीपुरी चटपटे भाजा लगायतका व्यवसायहरु पनि राम्रैसँग सञ्चालन भइरहेका छन् । यहाँ व्यापार गर्न नेपालका विभिन्न क्षेत्रबाट मात्र नभई भारतबाटसमेत ठूलो संख्यामा व्यापारीहरु आएका छन् ।

अधिकांश विपन्न तथा मध्यमवर्गीय परिवारले साना तथा खुद्रा ब्यवसाय सञ्चालन गरेका हुन् । पाँच वर्षमा एक पटक लाग्ने गढीमाई मेलामा व्यापार गरेर गरेको आम्दानीले झण्डै एक वर्षसम्म घर खर्च चल्ने गरेको उनीहरुको भनाई छ । झण्डै एक महिनासम्म लाग्ने यस मेलामा भएको यहि व्यापारबाट उनीहरूको परिवारको जीवन धान्ने आधार बनेको छ । 

विपन्न समुदायका लागि विभिन्न स्थानमा लाग्ने यस्ता मेलाहरू आम्दानीको राम्रो स्रोत बन्ने गरेको छ। नेपालमा गरिबीका रेखामुनि लाखौं मानिसहरू रहेका छन् । 

उनीहरूको दैनिक आम्दानीको स्रोत बनाउन राज्य चुकिरहेको छ । राज्यले गरिबी निवारणको लागि ठोस योजना नल्याउँदा गरिबी निवारण केवल मिठो नारामा मात्र सीमित भएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update