News 24 Television
सर्लाहीका चिनी उद्योगलाई उखुको अभाव, जिल्लाका उखु अन्यत्र पठाइदैं 

सर्लाही । नेपालमा करिब ८१ हजार हेक्टर जमिनमा उखुको खेती हुने गरेको छ । विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये नेपाल ३३ औं स्थानमा छ । नगदेबालीको रुपमा रहेको उखु खेतीका कारण थुप्रैले रोजगारी पाउनुका साथै किसानको आर्थिक हैसियत समेत उकासिएको छ । 

त्यसैले उखुको याम सुरु भएसँगै उद्योगीहरु सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन् । सर्लाहीका सबै चिनी उद्योगहरु संचालनको तयारी थालिएको छ । सर्लाहीमा साना र ठुला गरी चारवटा चिनी उद्योग रहेकामा तिन ओटाले संचालनको तयारी गरिरहेको छ ।

सर्लाहीको सबैभन्दा ठुलो चिनी उद्योग इन्दु शंकर चिनी उद्योग हरिवनले मंसिर १९ गतेदेखि डोंगा पूजा गरी विधिवत रुपमा मिल संचालनमा ल्याएको छ । 

यसै गरी धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग र बगदहस्थित महालक्ष्मी चिनी उद्योगले पनि संचालनको अन्तिम तयारी गरेको छ । सिरपुरस्थित मोहिनी चिनी उद्योगले पनि केही हप्तामा उखु क्रसिंग सुरु गर्ने तयारी गरेको छ । 

गत याममा जिल्लाका अधिकांश उद्योगहरु उखु नपाएपछि पूरा समय सञ्चालन हुन सकेका थिएनन् । उखुको अनुदानबापतको रकम भुक्तानीमा ढिलाइ हुँदा जिल्लामा उत्पादित उखु अन्य जिल्ला पठाइएको किसानको भनाइ छ । 

सर्लालीको सबै भन्दा ठूलो र पुरानो चिनी उद्योग इन्दु शंकरले जोखिम मोलेरै उद्योग सञ्चालनमा ल्याउन लागिएको जनाएको छ । तर सिरहा र महोत्तरीका चिनी उद्योगले बिभिन्न सेटीङ्गमा सर्लाहीको उखू लगिरहेकाले सर्लाहीका चिनी उद्योग प्रभावित बन्ने भन्दै इन्दु शंकरका प्रशासकिय प्रबन्धक चिन्ता व्यक्त गर्छन् ।   

मलखाद, बीउ–बिजन, श्रमिकमा हुने खर्च बढेसँगै अहिले उखु उत्पादनको खर्च बढेको छ । अहिले सरकारले तोकेको समर्थन मूल्यले खेत जोतेको पैसा पनि नउठ्ने किसान दुखेसो पोख्छन् । चालु आर्थिक वर्षको उखुको समर्थन मूल्यमै जिल्लाका उखु किसानहरुको असहमति छ । 

गत वर्ष उखुको मूल्य ५६५ रुपैया प्रति क्वीन्टल रहेकोमा यस वर्षको लागि सरकारले उखुको मूल्य प्रति क्वीन्टल २० थप गरेर ५८५ रुपैया कायम गरेको छ । सरकारले किसानलाई प्रति क्वीन्टल ७० रुपैया अनुदान दिने गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update