झापा । झापाको मेचीनगर नगरपालिकाले नगर प्रहरीलाई सवारी साधन हस्तान्तरण गरेको छ । बिहिवार बिहान एक संक्षिप्त कार्यक्रमका बिच नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले नगरप्रहरीलाई उक्त सवारीसाधन हस्तान्तरण गरेका हुन् ।
सुदुरपुर्वमा रहेको नेपालकै ठुलो मध्येको नगरपालिका मेचीनगर नगरपालिकामा पन्द्रवटा वडा रहेका छन् । एक लाख ३० हजार बढी जनसंख्या रहेको नगरमा एक चालकसहित १९ जना नगरप्रहरी रहेका छन् ।
नगर प्रहरीहरूको जिम्मेवारीलाई समयमै कार्यन्वयन गर्न, काममा सहजता होस भनि नगरपालिकाले आजबाट सवारीसाधन उपलब्ध गराइएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
जनताको सेवामा नगरप्रहरीहरूको जिम्मेवारी महत्त्वपूर्ण रहने र त्यसलाई सहजरूपमा कार्यान्वयन गर्न सवारीसाधन उपलब्ध गराइएको उनको भनाइ छ । साथै उनले नगरभित्र हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न र नगरको अहित हुने हरेक क्रियाकलापप्रति चनाखो भएर काम गर्न नगर प्रहरीलाई निर्देशन दिए ।
उपप्रमुख उप्रेतीले न्यायिक समितिले गरेका निर्णय तथा बजारमा हुने कालोबजारी, खाद्य वस्तुको कृत्रिम अभाव तथा वजार अनुगमनमा समेत नगर प्रहरीको महत्वपूर्ण भूमिका हुने भन्दैं त्यसतर्फ पनि ध्यान दिन निर्देशन दिइन् ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत अधिकारी र प्रशासन , योजना तथा अनुगमन शाखा प्रमुख वस्तीले नगर प्रहरीको काम कर्तव्य र अधिकारलाई बुझेर नगरवासीबीच पुग्न र नगर प्रहरी नगरवासीकै हुन् भन्ने सन्देश दिन लाग्न सुझाव दिए ।
यता नगरपालिकाको कार्यालयले नगरप्रहरीलाई आफ्नो छुट्टै सवारी साधन उपलब्ध गराएसंगै अब जिम्मेवारी समयमै कार्यन्वयन गर्न थप सहज भएको मेचीनगर नगर प्रहरी प्रमुख प्रहरी सहायक निरिक्षक श्याम गिरी बताउँछन् । आफ्नो छुट्टै सवारीसाधन भएपछि अब नगरप्रहरीमा सेवा चुस्त दुरुस्त पार्न थप उर्जा मिलेको उनको भनाइ छ ।