News 24 Television
विद्युत प्राधिकरणमै मन्त्रीले कार्यकक्ष बनाएपछि माओवादीद्वारा विरोध

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले विद्युत प्राधिकरणको कार्यालयमा मन्त्रीले कार्यकक्ष बनाएर बसेको भन्दै विरोध जनाएको छ ।

बिहीवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टी केन्द्रिय कार्यालयको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको तर्फबाट बिरोध जनाएका हुन् । उनले विद्युत प्राधिकरणले लाइन काट्ने कुरा गर्दा मन्त्रीले कार्यकक्ष नै बनाएर बस्नु उचित नरहेको बताए ।

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बुधवार प्राधिकरणको कार्यालयमा कार्यकक्ष बनाएर बसेका थिए । सोही विषयलाई लिएर माओवादी केन्द्रले विरोध जनाएको हो । माओवादी केन्द्रले सरकारले विद्युत प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गरेको आरोप समेत लगाएको छ । यद्यपि विद्युत प्राधिकरणका अध्यक्ष भने उर्जामन्त्री रहने व्यवस्था छ । सापकाेटाले सरकार बिचौलियालाई जोगाउने, भ्रष्टाचारीलाई जोगाउने काममा लागेको आरोप लगाए । 

उनले भने, ‘विद्युत प्राधिकरणले जुन लाइन काट्ने कुरा गरिरहेको छ । त्यसमा मन्त्रीले नै अनौठो इतिहासमै कहले नभएको कुरा विद्युत प्राधिकरणमा नै कार्यकक्ष खोलेर बसेर त्यहाँ जुन विद्युत प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गर्ने काम गरेको छ । यस अर्थमा वास्तवमा सरकारले विचौलियालाई जोगाउने, भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ । यसका विषयमा पनि व्यवस्थित ढंगले हामी खबरदारी सभामार्फत गर्नेछौँ ।’

बैठकले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पालिका सम्मेलन र खबरदारी सभाको बारेमा छलफल गरेको प्रवक्ता सापकोटाले बताए । साथै बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल भएको बताए । उपचुनावले पार्टीको बारेमा राम्रो सन्देश प्रवाह गरेको माओवादी केन्द्रको निस्कर्ष रहेको छ । उनले एक्लै उपनिर्वाचनमा जाँदा जनताले स्वीकारेको बताउँदै अब  एकताबद्ध भएर जनतामा जाँदा जित सुनिश्चित भएको दाबी गरे । 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update