काठमाडौं । मुलुकमा भर्खरै स्थानीय तह उपनिर्वाचन सम्पन्न भएको अवस्था छ । मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजाले तीन ठूला दलहरुमै मतदाता आकर्षित भएको संकेत गरेको छ ।
निर्वाचन मत परिणाम अनुसार काँग्रेस पहिलो र दोस्रो माओवादी केन्द्र भएको देखिन्छ । त्यस्तै सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले तेस्रो भएको स्थिति छ । ४४ पदका लागि भएको निर्वाचनमा समग्रामा काँग्रेसले १९ वटा पदहरुमा जित हासिल गरेको छ ।
जसमा कैलाली तथा ओखलढुंगाको जिसस प्रमुख, कीर्तिपुर नगरपालिका प्रमुख र १६ वडा जित्यो । दास्रो भएको माओवादीले एक गाउँपालिका प्रमुख, एक उपप्रमुख र एक नगरपालिका उपमेयरसहित ११ पदमा जित हासिल गरेको छ ।
त्यस्तै तेस्रो भएको एमालेले ८ स्थानमा जित हासिल गर्यो । यो उपनिर्वाचनको मत परिणामले समग्रमा काँग्रेसलाई घाटा भएको देखिन्छ ।
काँग्रेसले साविक पद संख्यालाई परिपूर्ति गर्न सकेन । किनकी उपनिर्वाचन भएको ४४ मध्ये २४ पदमा काँग्रेसले जितेको थियो । यस्तोमा माओवादी र एमालेले बनोनसको रुपमा केही पद प्राप्त गरेका छन् । यस्तै रास्वपाले पनि काँग्रेसबाटै एक वडाध्यक्ष पद खोसेको छ ।
रास्वपा र राप्रपाको बिजोग
यो उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा)ले अनपेक्षित नतिजा प्राप्त गरेका छन् । रास्वपा संसदको चौँथो ठूलो दल हो भने राप्रपा संसदको पाँचौँ ठूलो दल हो । यद्यपि रास्वपा र राप्रपाले निर्वाचनमा लज्जास्पद नतिजाको सामना गर्नु परेको छ ।
काठमाडौं १६ अर्थात एउटा वडामा मात्रै जित निकाल्न सफल रास्वपाले अन्य सबैजसो स्थानहरुमा जमानत नै गुमाएको छ । हुनत रास्वपाले २६ स्थानमा मात्रै उम्मेदवारी दिएको थियो । जसमा २५ स्थमानमा जमानत गुमाएको छ । जबकी रास्वपा आउँदो ०८४ सालको आम निर्वाचनमा एकलौटी सरकार निर्माण गर्नेगरी मिसन ८४ को नारा लिएर अघि बढीरहेको दल हो । मिसन ८४ को सुरुवाती उद्घोषण गर्ने पहिलो दल पनि रास्वपा नै हो ।
हुन त ०७९ को स्थानीय तहको निर्वाचनमा रास्वपा गर्भमै थियो । त्यसयता भएको आम निर्वाचन र संघकै पहिलो उपनिर्वाचनमा रास्वपाले उत्साहपूर्ण मत प्राप्त गरेको थियो । यद्यपि संघको दोस्रो उपनिर्वाचताका इलाम– २ मा रास्वपाका उम्मेदवारले जमानत नै गुमाए ।
त्यसयता उधोगतिमा रहेको रास्वपाले पहिलो पटक उपनिर्वाचनको सामना गरेको हो । तर यसमा पनि रास्वपाले एक स्थानमा जित निकाल्दा २५ स्थानमा जमानत गुमाएको हो ।
यो अवस्थामा रास्वापाले पहिलो पटक सामना गरेको निर्वाचनबाट ऐतिहासिक एक जित निकाल्न सफल देखिन्छ भने अर्कोतर्फ २५ स्थानको नजिताले रास्वपालाई दुखित तुल्याएको देखिन्छ ।
राप्रपाको पनि हालत उस्तै
संसदको पाँचौ ठूलो दल राप्रपाले पनि उपनिर्वाचनमा उस्तै हार व्यहोरेको छ । कुनै पनि स्थानमा जित निकाल्न नसकेको राप्रपाका धेरै उम्मेदवारहरले जमानत गुमाएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले यही उपनिर्वाचनको पेरिफेरीमै ०८४ को आम निर्वाचन अघि नै राप्रपाले मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त गर्ने दावी गरिरहँदा निर्वाचन मत परिणामले भने यस्को विपरित संकेत देखाएको छ । अध्यक्ष लिङ्देनकै गृहजिल्ला झापाको कन्काई नगरपालिका वडा ६ मा भएको उपनिर्वाचनमा राप्रपा पाँचौँ दल बन्यो ।
राप्रपाका वडाध्यक्षका उम्मेदवार नारायणप्रसाद सिटौलाले जम्मा २६ मत प्राप्त गरेका छन् । त्यस्तै अन्य धेरैजसो स्थानहरुमा पनि राप्रपाले ५० मत कटाउन सकेको देखिँदैन । यस आधारले यो उपनिर्वाचनमा रास्वपा र राप्रपाले नराम्रोसँग हार व्यहोरेका छन् ।
उपनिर्वाचनको नतिजाबाट जनताले काँग्रेस, एमाले र माओवादीको विकल्प खोजिहालेको देखिँदैन । तर उम्मेदवारहरुप्रति विवेक भने पुर्याएको देखिन्छ । हाल सत्ता सहकार्य गरिरहेका काँग्रेस–एमालेबाट भोट बदलेर जनता प्रतिपक्षी दल माओवादीप्रति केही आकर्षित भएको देखिन्छ । यस्तोमा राप्रपा र रास्वपा भने मर्कामा परेका हुन् ।