News 24 Television
एक महिनादेखि रवि प्रहरी कठघरामा, रास्वपाको उग्र प्रदर्शन 

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रास्वपा सभापति झण्डै एक महिनादेखि प्रहरी हिरासतमा छन् । तर उनलाई प्रतिशोधपूर्ण पक्राउ गरिएको भन्दै कार्यकर्ताहरु निरन्तर प्रदर्शनमा छन् ।

पोखरा, बुटवल, काठमाडौं, चितवन र पर्सामा रहेको सहकारीमा ठगी भएको भन्दै रविविरुद्ध उजुरीपरेपछिसबै जिल्लामा पु¥याएर बयान लिइएको छ ।

रविको रिहाईको माग गर्दै बुधबार चितवनमा रास्वपा कार्यकर्ताले प्रदर्शन मात्र गरेर प्रहरीलाई नै घाइते बनाइदिए । अदालतको अनुमतिमा प्रहरीले गरिरहेको अनुसन्धानलाई प्रभावित पार्ने गरि रास्वपाका नेता कार्यकर्ताहरुले गरिरहेको प्रदर्शनमाथि प्रश्न उठिरहेको बेला रविको रिहाईको माग गर्दै प्रदर्शन चर्किएपछि यसलाई अनौठो अभ्यासको रुपमा हेरिएको छ । 

 

उपचुनावमा राम्रो नतिजा प्राप्त गर्न नसकेपनि काठमाडौं वडा नम्वर १६ को जितलाई उत्साह भनिरहेको रास्वपा वैकल्पिक राजनीतिको वकालत गरिरहेको छ । 

वैकल्पिक राजनीतिको वकालत गरिरहेको रास्वपाले पार्टी सभापति रबि लामिछानेमाथि लागेको आरोपमा प्रहरीले न्यायिक हिरासतमा लिएर गरिरहेको अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरिरहेका छन् । अदालतको अनुमतिमा चलिरहेको अनुसन्धानलाई प्रश्न गर्ने पार्टीले विधिको शासन पालना गर्छ ? प्रश्न पक्कै पेचिलो बनिरहेको छ ।

प्रदर्शनमा उत्रिएका रास्वपाका कार्यकर्याहरुले भरतपुरको चौविसकोठी क्षेत्रको स्थिति तनावग्रस्त बनाए । प्रहरीले तोकेको सीमा नाघ्दै गरिएको प्रदर्शनलाई रोक्न प्रहरीले अश्रुग्यास हानेको थियो भने पानीको फोहोरा समेत हानेको थियो । तर, प्रदर्शनकारीहरुले ढुंगामुढा गर्दै आठ प्रहरीलाई घाइते बनाएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रदर्शनकारीले  सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो । झडपमा घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यता, झडपमा प्रदर्शनकारीतर्फ १६ जना घाईते भएको रास्वपा चितवनले दाबी गरेको छ । 

घाइतेको भरतपुर सामुदायिक  अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको बताइएको छ । रविलाई बयानका लागि मङ्गलबार काठमाडौँबाट चितवन ल्याएको हो । साहारा सहकारीबाट रु १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोपमा चितवनमा उनीसँग बयान लिइएको छ ।

रास्वपाको राजनीतिक एजेण्डामै प्रश्न

रास्वपा विधिको शासनमा विश्वास गर्ने पार्टीको रुपमा आफूलाई दाबी गर्छ । तर, अदालतको आदेशमा चलिरहेको अनुसन्धानलाई नै प्रभावित पार्ने गरि रास्वपाले गरिरहेको प्रदर्शनको राजनीतिक उद्देश्य र त्यसको औचित्य भने खास नहुने तर्क गर्न थालिएको छ ।

शुरुदेखि नै रास्वपाले रविको रिहाईको माग गर्दै प्रदर्शन गरिरहेको छ । सहकारी ठगीमा आरोप लागेकाहरुमाथि अनुसन्धानको माग गर्नुको सट्टा पार्टी सभापति रवि लामिछानेको रिहाईको माग गर्नुले नै प्रश्न थप पेचिलो बन्न पुगेको तर्क गर्न थालिएको छ । 

पार्टी सभापतिको रिहाईको माग गर्दै अघि बढेको रास्वपाले उपचुनावमा उल्लेख्य मत नै पाउन सकेन । अधिकांश स्थानको चुनावी क्षेत्रमा जमानत जोगाउने मत समेत प्राप्त नहुनुले समेत रास्वपामाथि अनेक प्रश्न गर्न थालिएको छ ।

रास्वपाले राजनीतिक एजेण्डा अघि सारेर आन्दोलन गर्नुपर्नेमा पार्टी सभापतिको रिहाईमा केन्द्रित पार्दा सहकारी पीडित र आम सर्वसाधारणमा विश्वास घट्दो छ । 

रास्वपाले विधिको शासनको पालना गर्दै प्रहरी अनुसन्धानलाई सघाउनुको सट्टा किन रिहाईको मागसहित प्रदर्शन गरिरहेको छ भन्ने प्रश्नको जवाफ एउटै छ, राजनीतिक प्रतिशोध साँधियो । 

योबाहेक अन्य विषय देखाउन नसकेको रास्वपाले अझैंपनि आफ्नो आन्दोलन र प्रदर्शनलाई पीडितको पक्षमा पार्न नसक्दा थप प्रश्नहरु उठ्नेमा कुनै शंका छैन । 

पर्सामा पनि पक्राउ पुर्जी

रास्वपाले रविको रिहाई भन्दै प्रदर्शन गरिरहँदा उनीविरुरुद्ध पर्सामा समेत पक्राउ पुर्जी जारी भएको छ । पोखरा, वुटवल, काठमाडौं र वितवनमा बयानका लागि डुलाउन थालिएका रविलाई अब प्रहरीले पर्सामा समेत बयान गराउने बाटो खुला भएको छ । 

यस्तोमा सहकारी ठगीको विषयलाई राज्यले गम्भीरतापूर्वक अनुसन्धान गर्ने र निष्पक्षता अपनाउने विषयमा दबाब दिनु नै पीडितका लागि न्याय हुनसक्छ । तर, सहकारी ठगीको अनुसन्धानमा राज्यले अभियोजन गरेपनि अदालतले न्यायिक विवेकको प्रयोग गर्ने बाटो खुला नै रहेको छ । तर रास्वपाले देखाएको उग्ररुपले भने राजनीतिक रुपमा घाटा हुने सम्भावना थप बलियो बनेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update