News 24 Television
भेटी मेला व्यवस्थापन समितिले लगेपछि पूजारी आक्रोशित 

बारा । बाराको महागढीमाई नगरपालिका–२ वरियापुरमा यतिबेला विश्व प्रशिद्ध पञ्चबर्षीय गढीमाई मेला लागिरहेको छ । मंसिर १ गतेबाट सुरु भएको मेलामा दर्शन गर्नका लागि हजारौं भक्तजनहरु आइरहेका छन् ।

पूजामा एकसय भन्दा बढी पुजारीहरु सहभागी छन् । तर पूजामा चढाइएको भेटी गढीमाई मेला व्यवस्थापन समितिले कब्जा गरेको पुजारीहरुको गुनासो छ ।  

प्रत्येक ५ बर्षमा लाग्ने गढीमाई मेलामा दर्शन गर्न देश विदेशबाट भक्तजन तथा दशनार्थीहरु आइरहेका छन् । गढीमाईको दर्शन गरे आफूले चिताएको कुरा पूरा हुने जनविश्वासका कारण यहाँ नेपालका विभिन्न स्थान लगाएत, भारतको विहार उत्तर तथा मध्य प्रदेश, पंजाव तथा हरियाणा लगाएतका स्थानहरुबाट दर्शन गर्न आउने गरेका छन् । हरेक ५ बर्षमा लाग्ने मेलामा दर्शन गर्न परिवार सहित नै आएको भक्तजन बताउँछन् । 

गढीमाईमा आएका भक्तजनहरुले मन्दीरमा गच्छेअनुसार भेटी चढाउने गरेका छन् । तर उक्त भेटीमा गढीमाई मेला व्यवस्थापन समतिले कब्जा गरेको भन्दै पूजारीहरुले गुनासो गरेका छन् । बर्षौंदेखि आफूहरुले भोग चलन गर्दै आएको भेटी समितिले नगरपालिकाको विकास गर्ने निहुँमा कब्जा गरेको र कति प्रतिशत दिने भन्नेसम्म छलफल नै नभएको पुजारी बताउँछन् । 

समितिले नगरपालिकाको मात्रै नभएर पुजारीहरुको बिषयमा पनि सोच्नुपर्ने उनीहरुको गुनासो छ । यता, गढीमाई मेला व्यवस्थापन समितिका प्रचार प्रसार व्यवस्थापक श्रीकान्त गुप्ता नगरपालिकाले मेलालाई व्यवस्थित बनाउनका लागि व्यवस्थापन समितिले भेटि आफ्नो मातहतमा ल्याएको बताउँछन् । यद्यपि, पुजारीहरुको लागि मासिक तलब दिइने व्यवस्था मिलाइने छलफल भएको उनको भनाइ छ ।

मन्दीरमा रहेका पुजारीहरुका अनुसार अघिल्लो पटकको यसै मेलाबाट करिब २० लाख रुपैंया भेटी जम्मा भएको थियो । त्यसमा पुजारीहरुलाई ८ लाख रुपैंया मात्रै दिइएको थियो । बाँकी भेटी नगरपालिकाको विकासमा लगाइने बताइए पनि कहाँ, कसरी खर्च भयो भन्ने कुरा सार्वजनिक नगरिएको पूजारीहरुको आरोप छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update