News 24 Television
गढीमाई मेलामा तीन तहको सुरक्षा घेरा, सेना पहिलो लहरमा 

काठमाडौं । बाराको महागढीमाईबाट नगरपालिकामा प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला लाखौंले अवलोकन गर्ने गर्दछन् । आयोजकका अनुसार मङ्सिर १ गतेदेखि सुरु भएको पञ्चवर्षे गढीमाई मेलामा अहिलेसम्म २० लाख बढीले अवलोकन गरिसकेका छन् । विशेषगरी बलि दिने दिनहरुमा दर्शनार्थीहरूको अत्याधिक भीड हुँदा सुरक्षा चुनौती पनि बढ्ने गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मेलाको सुरक्षा संवेदनशीलता लाई मध्यनजर गर्दै तीन घेराको सुरक्षा अपनाइएको छ । जसको पहिलो घेरामा नेपाली सेना त्यसपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी रहने व्यवस्था मिलाइएको छ । सुरक्षा व्यवस्थालाई बलियो बनाउन ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र ट्राफिक प्रहरीका सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति पनि मेला क्षेत्रभरि देख्न सकिन्छ । मेला क्षेत्रभरि २४ सै घण्टा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

 

मेलाको सुरक्षामा कमी हुन नदिन स्थानीय सरकारले पनि नगर प्रहरी, मेला म्यादी प्रहरी र एनसीसी क्याडेटहरुलाई परिचालन गरेको छ । 

मेलामा आउने दर्शनार्थीहरू ले प्रयोग गरेका सवारी साधनहरूको व्यवस्थापन पनि ट्राफिक प्रहरीको लागि ठूलो चुनौती बन्ने गरेको छ । 

यसका लागि ट्राफिक प्रहरीले मेलामा आउने सवारी साधनहरुलाई मेलास्थलभन्दा निकै वर रोकेर मेलास्थलमा सवारीको चाप कम गर्ने प्रयास गरिरहेको छ । 

यस अघिका मेलाहरूमा चोरी, लुटपाटका घटनाहरू बढी हुने पाइएकोले त्यस्ता घटनालाई निरुत्साहित गर्न ठूलो संख्यामा सादा पोशाकका प्रहरीहरु पनि खटाइएको जिल्ला प्रहरी कार्यालय बाराको भनाइ छ । 

भिडभाडमा हुनसक्ने सुरक्षा जोखिमहरुलाई मध्यनजर गर्दै सचेत हुन सर्वसाधारण आफै पनि सचेत बन्नु जरुरी छ । मेलामा पुग्ने दर्शनार्थीहरुले महंगा सरसामान नबोक्दा र गरगहना नलगाई जाँदा सम्भावित लुटपाट र चोरीका घटनाहरुमा कमी आउन सक्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update