
कास्की । राष्ट्रिय फल घोषणा गरिएको सुन्तला खेती पोखरा आसपासमा धेरै स्थानमा गरिन्छ । यद्यपी पहिलेको तुलनामा आजभोली सुन्तला खेती गर्नेहरु घट्दै गएका छन् । तर जति पनि सुन्तला खेतीमा व्यवसायिकरुपमा आवद्ध छन्, तिनीहरुले भने बर्सेनि लाखौ आम्दानी गर्दै आएका छन् ।
यिनी हुन् खिममाया सुवेदी । सुवेदीले विगत केही वर्ष देखि कास्कीको पोखरा वडा नम्बर २१ कृस्तीमा व्यवसायिक रूपमा सुन्तला खेती गर्दै आईरहेकी छिन् । यस क्षेत्रमा सुन्तला किन्न ग्राहक घरमै पुग्ने गर्छन् र ठेकेदारहरुले पनि सुन्तला बगैंचा नै ठेक्कामा लिएर बिक्री गर्ने गर्छन् ।
यो ठाउँमा उत्पादित सुन्तलाको मुख्य बजार भनेकै पोखरा र काठमाडौं रहेको कृषक बताउँछन् । कुनै वर्ष राम्रो र कुनै वर्ष बाढी, असिनाले नोक्सान गरेपनि यो वर्ष भने राम्रो आम्दानी हुनेमा ढुक्क छिन् खिममाया सुवेदी ।
यसरी यो क्षेत्रमा सुन्तला खेती गर्ने कृषक धेरै छन्, जसका कारण आफ्नो जीविकोपार्जन मात्र होइन, घर परिवारको खर्च र छोराछोरीको पढाइ खर्च निकाल्दै कृषकहरुले आम्दानीबाट बचत समेत गर्दै आइरहेका छन् ।
नेपालको धेरै जसो ठाउँका युवाहरु आर्थिक जोहो गर्न विदेश पलायन भएका छन् । तर यो ठाउँमा भने सुन्तला खेतीबाट हुने आम्दानीका कारण विदेश पलायन हुन केही हदसम्म रोकिएको छ ।
यो वर्ष कृस्तीमा सुन्तलाका दाना साना भएपनि बोटले धान्नै नसक्ने गरी लटरम्मै फलेका छन् । बोटका हाँगा नै सुन्तला धान्न नसकेर नुगेपछि कृषकहरुले टेको दिएका छन् । हजुरबुवाको पालैदेखि घरमा खानका लागि सुन्तला लगाउने गरेको कृषक पिताम्बर सुवेदी बताउँछन् ।
मनग्य आम्दानी हुन थालेपछि वैदेशिक रोजगारबाट फर्केका युवाहरु पनि सुन्तला खेतीमा आकर्षित बनेका छन् । पोखरा २१ रातोमाटेका खिमराज भण्डारी दुबईबाट फर्की अहिले सुन्तला खेतीबाट बर्सेनि लाखौं आम्दानी गर्दैछन् ।
सुन्तला खेतीमा मुख्य समस्या भनेकै असिना र बाँदर रहेको हुँदा यसको रोकथामका लागि राज्यले केही सहयोग गरिदिने हो भने विदेश नगई नेपालमै मनग्य कमाउन सकिने कृषक भण्डारी बताउँछन् ।
यता कृषकलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिकाले समेत किसानलाई सुन्तला बगैँचा व्यवस्थापनका लागि चार वर्षमा ८० लाख अनुदान दिईसकेको छ ।
सुन्तला बगैँंचामा ह्रास, बोट सुक्दै जानु, मलजल तथा गोडमेलको कमी लगायतका कारणले उत्पादनमा कमी आउने हुदाँ त्यसलाई ख्याल गर्नुपर्ने पोखरा महागनरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया बताउछन् ।
पोखरा २१ को फेदीपाटन, मासपाटन, पोखरेलथोक, दोपरे क्षेत्रमा सुन्तला राम्रो हुने गर्छ । पोखरा महानगरमा हाल १५० हेक्टरमा सुन्तला खेती गरिएको छ जसमा करिब ३० हजार सुन्तलाको बोट उत्पादनशिल अवस्थामा छन् ।
पोखरामा बर्सेनी ८ करोड बराबरको सुन्तला उत्पादन हुदै आएको छ । यता कास्की जिल्लामा एक हजार ३५० हेक्टर क्षेत्र सुन्तला उत्पादनशील भए पनि ७ सय ८० हेक्टरमा मात्रै सुन्तला खेती गरिएको छ ।