News 24 Television
क्रान्तिकारीहरुको लडाईं अझै टुंगिएको छैन : प्रचण्ड

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीहरुको लडाईं अझै नटुंगिएको बताएका छन् । बुधवार काठमाडौंमा गणतन्त्र सेनानी सम्मान- २०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जनताका लागि गणतन्त्र बनाउन अझै बाँकी रहेको बताउँदै उनले जनयुद्ध उत्कर्षतिर जाँदै गर्दाका प्रमुख राजनीतिक दलहरु नै अहिले सत्तामा रहेकोले गणतन्त्र खतरामा परेको संकेत गरे । उनले आफूहरु अहिले पनि जनयुद्धताका जस्तै विपक्षमा रहेको बताए । सबै कम्युष्टिहरु एक हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले देशलाई गणतन्त्रमा रहनबाट कसैले रोक्न नसक्ने दाबी समेत गरे ।

उनले भने, ‘हाम्रो लडाईं टुंगिएको छैन, हाम्रो लडाईं जारी नै छ । हामी जतिबेला जनयुद्धको उत्कर्षतिर जाँदै थियौँ । राज्यमा अहिले सरकारमा भएका प्रमुख भनिएका पार्टीहरु नै सरकारमा थिए । सत्तामा थिए । हामी क्रान्तिमा थियौँ, अर्को भाषामा भन्ने हो भने उनीहरु सत्तामा थिए, हामी त्यसका विद्रोही पक्ष थियौँ । त्यसको बिरोधी पक्ष थियौँ, प्रतिपक्ष थियौँ पनि भन्न सकिन्छ । अहिले घुम्दै परिस्थिति त्यही दिशातिर जाँदैछ । म तमाम कमाण्डर कमरेडहरुलाई, डेपुटि कमाण्डरदेखि अन्य कमाण्डरहरुलाई विशेष रुपले ध्यानाकर्षित गर्न चाहन्छु । हामी फेरि एकचोटि प्रतिक्रियावादी र बुर्जुवाहरु सत्तामा छन्, हामी क्रान्तिकारीहरु प्रतिपक्षमा छौँ । हामी त्यही किसिमको विद्रोहमा फेरि छौँ । परिस्थिति नयाँ ढंगले हामीले उहिल्यै आँकलन गरेको जस्तै गणतन्त्रमा त यो देशलाई अब कसैले रोक्न सक्दैन ।’

अध्यक्ष दाहालले क्रान्तिकारीहरुले जनताको गणतन्त्र बनाउनेतिर फेरि एउटा लडाईं लड्नुपर्ने आवश्यकता देखिएको बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update