कास्की । मध्यपहाडी लोकमार्ग अन्तरगतको भाइरल सडकका रुपमा परिचित हेम्जा सडक खण्ड जति सुविधा सम्पन्न र फराकिलो छ, त्यति नै सडकको सही सदुपयोग गर्न नसक्दा सवारी दुर्घटन पनि दिनानुदिन बढिरहेको छ । बढ्दो सवारी दुर्घटनाले यो सडक मृत्यु मार्ग बन्ने त होइन भन्ने चिन्ता पनि उत्तिकै बढेको छ ।
पोखरामा शुक्रबार बेलुका ट्रकले ठक्कर दिंदा चर्चीत टिकटकर गिभीना मगरकी आमाको मृत्यु भयो । पोखरा २५, याम्दीमा बेलुकी ७ बजेतिर भएको दुर्घटनामा रुकुम पश्चिम घर भई पोखरा याम्दी बस्दै आएकी ५५ वर्षीया गिभीनाकी आमा धनकुमारी बुढाको मृत्यु भएको हो । केही दिन अगाडी मात्रै सोही सडकमा लोक गायक किरण अधिकारीको पनि सवारी दुर्घटनामा परि निधन भएको थियो । सडक बत्ती नहुँदा रातिको समयमा सवारी दुर्घटना बढ्ने गरेको स्थानीयहरुको बुझाइ छ ।
उसो त मध्यपहाडी लोकमार्ग अन्तरगतको पोखरा हेम्जा सडक जती फराकीलो बन्यो त्यति दुर्घटना पनि बढ्दो छ । मुख्यतः यो सडकमा सडक प्रयोगकर्ताहरुले ट्राफिक नियम वेवास्ता गर्दा सवारी दुर्घटना बढेको हो । मध्य पहाडी लोकमार्ग अन्तरगत याम्दीदेखि घट्टेखोलासम्मको करिब ६ किलोमिटर सडकमा पर्याप्त मात्रामा सडक बत्ती राखिएको छैन । यो सहित तिब्र गतिमा सवारी कुद्ने भएका कारण पनि सवारी दुर्घटना बढेको पोखरा महमानगर पालिकाका प्रवक्ता मोतिलाल तिम्सिना बताउछन् ।
त्यसो त हरेक दिन जसो तोकिए भन्दा तिब्र गतिमा सवारी कुदाउने चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही नगरेको पनि हैन । तर, पर्याप्त जनशक्ती नहुदाँ ट्राफिक प्रहरी पनि बिहानदेखि बेलुकासम्म यो सडकमा खटिन सक्दैनन् । गत आर्थिक वर्षमा मात्रै यही सडकमा गम्भिर प्रकारका ८ दुर्घना हुदाँ ४ जनाले ज्यान गुमाए भने ११ जना गम्भिर घाइते भएका थिए । चालु आर्थिक वर्षको पछिल्लो साढे चार महिनामा मात्रै ७ वटा गम्भिर प्रकारका सवारी दुर्घटना हुदाँ ३ जनाको निधन भयो भने ६ जना गम्भिर घाइते भए । सडक सुविधा सम्पन्न र फराकिलो भए पनि सडक प्रयोग सम्बन्धी नियम वारे सवारी चालक र पैदल यात्रु दुवैले वेवास्ता गर्दा दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाई छ ।
ट्राफिक प्रहरीले हेम्जा सडक खण्डको बजार क्षेत्रमा प्रति घण्टा ४० किलोमिटरको गतिमा सवारी कुदाउने नियम तोकिएको छ । तर, फराकिलो र सिधा रहेको सडकखण्डमा भने न्यूनतम ८० देखि १२० किलोमिटर प्रति घन्टाको उच्च गतिमा सवारी कुद्ने गरेका छन् । जसका कारण पोखराको भाइरल रोड ज्यानमारा रोड बनिरहेको छ ।