News 24 Television
उपनिर्वाचनको परिणामले हौसियो माओवादी, एक्लै भिड्न सक्षम भएको दाबी 

काठमाडौँ । स्थानीय तहको उपचुनावबाट माओवादी केन्द्र हौसिएको छ । कांग्रेस एमालेको गठबन्धनविरुद्ध प्रभाव क्षेत्रमा चुनाव लड्दा पनि जित निकालेको भन्दै खुशी देखिएको माओवादी केन्द्रले केही स्थानमा अप्रत्यासित नतिजा हासिल गरिको छ भने मतको संख्याले समेत चर्को प्रतिष्पर्धामा पार्टीलाई उभ्याएको दाबी गरेको छ । 

कुनैपनि गठबन्धन नगर्ने भन्दै राजनीतिक मुद्दा नै बनाएका कांग्रेस एमालेले केहि स्थानमा माओवादी केन्द्रको गढ भत्काउने प्रयास गरे । रुकुम पूर्वमा कोसिस गर्दा पनि उनीहरु भारी मतान्तरले पछि परेका छन् । रुकुम पूर्वको उपाध्यक्ष पदका लागि भएको उपचुनावमा माओवादी केन्द्रले जित निकालेपछि प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्णबहादुर घर्तिले माओवादीले जित्नैपर्ने आधार स्थापित भएको प्रमाणित भएको जिकिर गरेका छन् । 

रुकुम पूर्वमा एमाले कांग्रेसले अनौठो गठबन्धन गरेका थिए । जसमा एमालेका उम्मेदवार कांग्रेसको चुनाव चिन्हबाट निर्वाचनमा होमिएका थिए । यसरी चुनावमा होमिएपनि उनीहरुले जित निकाल्न सकेनन् भने माओवादी केन्द्रकी नरपुरा बुढाले जित निकालेपछि खुशी साटिन् । 

उपचुनावलाई ठूला दलहरुले रणनीतिको रुपमा लिएको बेला उपचुनावको नतिजा माओवादी केन्द्रमा परेको निर्वाचन अधिकृतको कार्यालय रुकुम पूर्वले जानकारी गराइसकेको छ भने निर्वाचन आयोगले समेत निर्वाचित भएको जानकारी गराइसकेको छ ।  

गठबन्धन गर्दा पनि पराजय ब्यहोरेपछि कांग्रेस नेताले भने जनताको पक्षमा काम गर्न अपिल गरेका छन् । 

उसोतः रुकुम पूर्वको वडाध्यक्षमा समेत माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन भने रुकुम पश्चिममा भने माओवादी केन्द्रलाई कांग्रेस एमाले गठबन्धनले जिल्लाएको छ । सानीभेरी गाउँपालिकाको वडा नम्बर ५ मा कांग्रेसका मोतिराम खत्रीले माओवादी केन्द्रका जसिराम बस्नेतलाई पराजित गरे । 

मोरङ र जाजरकोटको नतिजाले थप उत्साह

मोरङको ग्रामथान गाउँपालिकामा पनि माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन् । यसअघि कांग्रेसले जितेको पालिकामा माओवादी केन्द्रले चलाखीपूर्वक जित निकालेको हो । माओवादी केन्द्रबाट निर्वाचित माझी यसअघि कांग्रेसमै सक्रिय थिए । तर, माओवादी केन्द्रले जित निकाल्नका लागि माझीलाई उम्मेदवार चयन गर्दै मोरङमा पनि बिजय हासिल गरेको छ । यसरी माओवादी केन्द्रले जाजरकोटको नलगाडमा समेत उपमेयरमा जित निकालेको छ । जाजरकोटमा जित निकालेपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले माओवादी एक्लै चुनाव लड्न सक्षम छ भन्ने सन्देश दिन सफल भएको दाबी गरेका छन् । 

जाजरकोटमा कांग्रेस एमालेका उम्मेदवारलाई पछि पार्दै देवका लामिछानेले जित निकालेकी हुन् । यो पालिकामा यसअघि कांग्रेसले जितेको थियो । 

उपचुनावको सन्देश

उपचुनावमा दलहरु प्रायः स्थानमा एक्लाएक्लै निर्वाचनमा होमिएका थिए । यसरी हेर्दा मुख्य प्रतिष्पर्धा भने ठूला तीन दलबीच नै देखिएको छ । पछिल्लो समय चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं १६ मा जित निकालेपनि अन्य स्थानमा जमानत जोगाउनै सकेन । धेरै स्थानमा जमानत नै जोगाउन नसकेको रास्वपा होस वा राष्ट्रिय प्रजातन्त्र पार्टी नै किन नहुन्, प्रतिष्पर्धामा धेरै तल देखिएका छन् । सीके राउतको जनमत पार्टी पनि तराई मधेशमै निकै कमजोर देखियो । 

मधेसमा पकड जमाउने अपेक्षा गरिएको जनमतलाई जनता समाजवादीले उछिनेको छ भने अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरुले पनि यो उपनिर्वाचनमा खासै धक्का दिन सकेनन् । तर, उपचुनावको ठूलो धक्का भने कांग्रेसलाई लागेको छ । जनताले उपचुनावमा दिएको मतको रुझान हेर्दा ठूला दलप्रति नै भरोसा गरेको देखिएपनि मतदाताले स्वाद भने फेर्ने संकेत प्रष्ट गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update