दार्चुला । भौगोलिक दृष्टिकोणले एकदमै दुर्गम जिल्ला दार्चुलामा निजामति कर्मचारीको आकर्षण बढाउन कर्मचारी आवास गृह बनाइएको एक दशक भइसक्यो । निजामति कर्मचारी आवास गृह अहिले महाकाली नगरपालिकाको रेखदेखमा छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुला र महाकाली नगरपालिका बीच भएको सम्झौताको म्याद २०८१ भदौं २३ गते सकिएपनि आवास गृह कर्मचारीहरुले भने उपभोग गर्न पाएका छैनन् । दार्चुला जिल्ला त्रिदेशीय नाका भएको एकदमै दुर्गम जिल्ला हो ।
यो जिल्लामा नीजामति कर्मचारीको आकर्षण बढाउन कर्मचारी आवास भवन बनाइएको थियो । तर आवास भवन निर्माण सम्पन्न भएको एक दशकसम्म पनि निजामती कर्मचारीहरुले उक्त आवास भवनको उपयोग गर्न पाएका छैनन् ।
निजामती कर्मचारीहरुको सांझा संगठन एवम् आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति दार्चुलाले भदौ २७ गते नै आफुहरुका लागि निर्मित निजामती कर्मचारी आवास उपभोग गर्न पाउ भनि सम्झौताको म्याद थप नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निवेदन गरेको थियो तर प्रक्रिया कहाँ पुग्यो अत्तोपत्तो छैन ।
दार्चुला जस्तो सामरिक महत्व बोकेको जिल्लाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी मातहत रहेको अहिलेको निजामती कर्मचारी आवास सहरी विकास तथा भवन डिभिजन कार्यालय बैतडी पाटनबाट निर्माण सम्पन्न पश्चात् मन्त्रालयलाई हस्तान्तरण गर्नुपर्ने, मन्त्रालयले जिल्ला प्रशासनलाई हस्तान्तरण गरी कार्यविधि अनुरुप निजामती कर्मचारीहरुले उपभोग गर्न पाउने नीति भएपनि सो प्रक्रिया अवलम्बन गरिएको देखिन्न ।
अहिलेसम्म जेजस्तो तवरले उपयोग गरेपनि अब चाहि कर्मचारीहरुले निजामती कर्मचारी आवास उपभोग गर्न पाउने कर्मचारी युनियनका अध्यक्षले बताए ।
निर्माण सम्पन्न पश्चात् महाकाली नगरपालिका र जिल्ला प्रशासन कार्यालय दार्चुलाबीच सम्झौता भई अहिले उक्त सम्झौताको म्याद सकिसकेको छ ।
त्यसैले निजामती कर्मचारी हरुले म्याद थप नगर्न ज्ञापनपत्र समेत दिइसकेका छन् । यता, आवास गृहको बारेमा मन्त्रालयको निर्णय पर्खिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको भनाइ छ ।
आवास गृह आफ्नो अधिनमा राख्ने कुनै मनशाय नभएको महानगरपालिकाको भनाइ छ । सरकारी सेवा सुविधाका आधारमा कतिपय दुर्गम जिल्लामा कार्यरत निजामति कर्मचारीका लागि आवास सुविधा अनिवार्य जस्तै छ ।
त्यसअर्थमा पनि कर्मचारीको आकर्षण बढाउन दार्चुलाको सदरमुकाम खलंगामा एकदशक अघि नै निर्माण भइसकेको कर्मचार आवास प्रयोगमा ल्याउन ढिलाइ गर्न हुन्न ।