News 24 Television
मंसिरमै हुनुपर्ने १०औँ राष्ट्रिय खेलकुद अब फागुनभित्र

काठमाडौँ । नेपालमा खेलकुदप्रति आम युवाहरुको जुन उत्साह र क्रेज बढेको छ, त्यसअनुसार लगानी गर्न राज्य उदासिन छ । भर्खरै सुरुभएको नेपाली इतिहासकै पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) प्रतिको क्रेज हेर्दा पनि यो कुरा पुष्टि हुन्छ । दर्शकहरुको उत्साह धान्न सक्ने एउटा गतिलो क्रिकेट स्टेडियम समेत नेपालले बनाउन सकेको छैन । पहिलोपटक विदेशी खेलाडी समेत भित्र्याएर नेपालकै विभिन्न टोलीहरु एनपिएलमा भिड्दै छन् । तर स्टेडियमको क्षमता र व्यवस्थापन कति दयनीय छ भन्ने कुरा एनपिएल उद्घाटनमा देखिएको ठेलमठेल भीड हो, जसमा धकेलाधकेल हुँदा केही दर्शक र प्रहरी समेत घाइते भए । राज्यले क्रिकेटमा मात्र हैन, समग्र खेलकुदमै लगानी बढाउन र यसको दायरा विस्तार गर्नमा ध्यान दिएको छैन । कुनै पनि खेलका लागि अन्तर्राष्ट्रिय स्तरको स्टेडियम तथा खेल मैदान सम्म नेपालमा छैन ।

यसै क्रममा खेलकुदमाथि लगानी बढ्न नसक्नुबारे सांसदहरुले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई बोलाएर सोधपुछ गरेका छन् । दशौँ राष्ट्रिय खेलकुद सरकारले पूर्व निर्धारित समयमा गराउन समेत नसक्दा चौतर्फी आलोचना खेप्नुपरेको छ । यसबारे पनि सांसदहरुले मन्त्रीलाई प्रश्न गरेका छन् । आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तरगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा सांसदहरुले खेलाडी र खेलकुदमा लगानी बढाउन आग्रह गरे । खेलाडीहरुले जितेर आइसकेपछि खुशी हुने र स्याबासी दिनेभन्दा पनि जित्नका लागि आवश्यक व्यवस्थापन गर्नतर्फ लगानी बढाउनुपर्नेमा सांसदहरुको जोड छ । सांसद सुमित्रा बिसीले देशभरका खेलकुद भौतिक पूर्वाधार बन्नुपर्ने आवश्यकता रहेको बताउँदै सबैतिर बजेट छर्नुभन्दा पनि एउटामा लगानी गरेर समयमै सम्पन्न गर्नुपर्ने बताइन् । 

सिंगो मन्त्रालय नै खेलकुदमा केन्द्रित हुँदा पनि खेलकुदको स्थिति दयनिय रहेको सांसद मदनकुमारी साहको भनाइ छ । युवा तथा खेलकुद मन्त्रालयले समग्र युवाहरुको भन्दा बढी खेलकुदको क्षेत्रमा मात्रै काम गरिरहेको बताउँदै उनले यति गर्दा पनि परिणाम राम्रो नदेखिएको उनले बताइन् । हरेक विद्यालयमा एकजना खेल शिक्षकको व्यवस्था गर्ने नीति किन कार्यान्वयनमा आउन नसकेको भनेर उनले मन्त्रीसामु प्रश्न समेत गरिन् । सांसद रेनु चन्दले खेलमा युवाशक्ति आकर्षित गर्न उसको लागि जागिर र भत्ताको कुरा ऐनमा नै समावेश गर्नुपर्ने र खेलाडीहरुको दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने बताइन् । 

समितिको बैठकमा उपस्थित खेलकुदमन्त्री चौधरीले १० औं राष्ट्रिय खेलकुद आयोजनामा केही कमजोरी भएको स्वीकार्दै अब फागुनभित्रै हुने दाबी गरेका छन् । सञ्चारमाध्यममा आएका समाचार हेरेर भ्रममा नपर्न आग्रह गर्दै उनले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु कर्णालीमै र फागुनभित्रै गरिने प्रतिबद्धता जनाए ।  दशौं राष्ट्रिय खेलकुद यसअघि यही मंसिर २ गतेदेखि हुने पूर्वनिर्धारित तालिका थियो । तर भौतिक पूर्वाधारको विकास समयमै हुन नसक्दा मंसिरमा सञ्चालन गर्न नसकेको मन्त्रीको भनाइ छ । कर्णाली प्रदेश सरकारले करोडौँ लगानी गरेर रंगशाला बनाएको भन्दै अब फागुनमा उक्त खेलकुद हुनेमा उनको विश्वास छ । भौतिक पूर्वाधार करिव सकिएको भए पनि खेलाडीहरुको व्यवस्थापन ठूलो चुनौती रहेको मन्त्री चौधरीको भनाइ छ ।

नेपाली खेलाडीहरुले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमै राम्रो प्रदर्शन गर्दै आएका छन् । राज्यको साथ सपोर्ट र लगानीविना उनीहरुले आफ्नै बलबुतामा यत्तिको गर्न सकेका छन् । नेपाली खेल प्रतिभाको समुचित विकास, प्रोत्साहन र यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवाज सबैतिर उठ्ने गरेको छ, तर पनि राज्य र सम्बन्धित निकाय यसमा चुकेका छन् । कतिपय राम्रा खेलाडी विदेश पलायन हुने क्रम बढेको छ भने सरकारले घोषणा गरेका पुरस्कार समेत बेलैमा दिन नसक्दा खेलाडीहरुमा निराशा बढ्दो छ । यसतर्फ ध्यान दिन सके खेल क्षेत्रले प्रतिभा पलायन रोक्न, देशको गौरव बढाउन तथा समग्र अर्थतन्त्र चलायमानमा टेवा पुर्याउन सक्छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update