News 24 Television
११ हजार नक्कली आयोजना खारेज गर्ने तयारीमा सरकार

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेटमा पास नभएका ११ हजार नक्कली आयोजनाहरु अध्ययन गरेर खारेज गर्ने बताएका छन् । 

आईतवार मन्त्रालयमा पूर्वाधार पत्रकारसँग भएको छलफल कार्यक्रममा बोल्दै भौतिकमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले नक्कली आयोजना खडा गरी अनावश्यक रुपमा बजेटमा राख्ने प्रवृत्तिको सरकारले अन्त्य गर्ने बताए ।  ११ हजार नक्कली आयोजनाको सन्दर्भमा प्रधानमन्त्रीले बारम्बार प्रश्न उठाएकाले मन्त्रालयले अध्ययन गरेर हटाउने उनकाे भनाइ छ । 

मन्त्री दाहालले संसदले पास गरेको आयोजनाभन्दा कसरी बढी देखिए भन्ने कुराको अध्ययन हुने बताए । उनले भौतिक पूर्वाधार क्षेत्रमा धेरै समस्याहरु रहेको भन्दै पछिल्लो समय पेचिलो बनेको निर्माण व्यवसायीहरुको भुक्तानी आगामी १५ दिनभित्रै दिइने बताए ।

उनले सरकार अहिले ठेक्का लगाउने काममा  लागिरहेको भन्दै सरकारसँग धेरै अपेक्षा रहेको तर पूरा गर्न साधन-स्रोतको अभाव रहेको बताए । उनले  सरकारले स्रोत साधनको आधारमा टेण्डर तथा ठेक्का लगाउने काम क्रमशः शुरु गरेको बताए । उनले सरकारले आयोजनाहरुको फाइल कुन मन्त्रालयमा कुन अवस्थामा छ भन्ने विषयमा फाइल ट्रयाकिङ प्रणालीको विकास गर्न थालेको पनि बताए । 

मन्त्री दाहालले भनने, ‘भौतिक पूर्वाधार क्षेत्रमा धेरै समस्याहरु छन् । सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी दिन नसक्दा हामी आफैँलाई अफ्ठ्यारो लागेको विषय हो । सरकारले निर्माण व्यवसायीहरुको भुक्तानीलाई कुनै न कुनै हिसाबले सम्बोधन गर्दैछौं । अब १५ दिन पनि लाग्दैन । निर्माण व्यवसायीहरुले पाउने पुरानो भुक्तानी पाउनुहुन्छ । सरकार अहिले ठेक्का लगाउने काममा छ । सरकारसँग धेरै अपेक्षा छन् । अपेक्षा पूरा गर्न साधन स्रोतको अभाव छ । तर पनि सरकारले टेण्डर तथा ठेक्का लगाउने काम क्रमशः भइरहेको छ । सरकारसँग जस्तो स्रोत साधन छ । त्यसको आधारमा सरकारले काम अगाडि बढाउने सोचेका छौं । सरकारले आयोजनाहरुको फाइल कुन मन्त्रालयमा कुन अवस्थामा छ भन्ने विषयमा फाइल ट्य्रायाकिङ प्रणालीको विकास गर्न थालेका छौं । फाइल कहाँ पुग्यो भन्ने विषय आफै हेर्न मिल्ने प्रक्रियामा छौ । अख्तियारले पनि साना विषयमा दुःख दिने काम गरिहेको छ । गर्नुपर्ने काम नगर्ने अरु काम गर्ने काम भइरहेको छ । सडक सुरक्षा सम्बन्धि विधेयक अबको संसद अधिवेशनमा लैजाने तयारी गरेका छौँ । ११ हजार नक्कली आयोजना को सन्दर्भमा प्रधानमन्त्रीले उठाएको विषय हो, यी आयोजना कसरी बिचैमा त्यसरी आए । संसदले पास गरेको आयोजनाभन्दा कसरी बढ्यो भन्ने कुराको अध्ययन हुनुपर्छ यो अराजकता हो ।नक्कली आयोजना खडा गरी अनावश्यक बजेटहरु राख्ने प्रवृत्तिको बारेमा अध्ययन गरी ती आयोजनालाई डिलेट गर्ने बाहेक अरु उपाय छैन ।’

भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले चालु आर्थिक वर्षका केही बहुवर्षीय ठेक्काको काम गर्ने योजना रहेको बताए । उनले गत वर्ष सरकारसँग स्रोत साधन नभएको भन्दै बहुवर्षिय ठेक्का लगाउने काम नगरेको भन्दै यो वर्ष सरकारले धेरै दायित्व नपर्ने गरी छनोट गरेर बहुवर्षिय ठेक्का लगाउने तयारीमा सरकार रहेको उल्लेख गरे ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले  सडक विभागले अहिले दैनिक गरी दुई हजार १ सय ६ आयोजनाहरु ठेक्काहरु लागिरहेको बताए । उनले उक्त आयोजनाहरुको गत असारसम्मको तथ्याङ्कका आधारमा २ खर्ब ३१ अर्बको लागत रहेको बताए । नारायणगढ-बुटवल सडक खण्डको विषयमा प्रधानमन्त्री स्तरसम्म कुरा पुगेर सबैतिर पहल भइरहेको उनकाे भनाइ छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update