झापा । बलात्कार जस्तो जघन्य अपराधको घटना अनुसन्धानमा इलाका प्रहरी कार्यालय काकडभिट्टाले चरम लापरवाही गरेको खुलेको छ । गत कात्तिक २२ गते दर्ता भएको जवरजस्ती करणी घटनाको अनुसन्धानमा प्रहरीले शंकास्पद गतिबिधि देखाएको पीडित पक्षले आरोप लगाएको हो ।
पीडित पक्षका अनुसार गत कात्तिक १७ गते राति मेचीनगर नगरपालिका वडा नम्बर १ गाडागल्लीका ३२ बर्षीय गँगाराम बास्कोटाले स्थानीय प्रजल देवानको सहयोगमा आफुमाथि बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालयमा एक युवतीले जाहेरी दिएकी थिईन ।
लगत्तै उनिहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले अनुसन्धान सकेर मिशिल सरकारी वकिलमार्फत जिल्ला अदालत झापामा बुझाएको छ । तर, अनुसन्धानका क्रममा संकलन गर्नुपर्ने प्रमाण संकलन नगरेको, पीडितलाई अभियुक्त सँगै एउटै गाडीमा खाँदेर स्वास्थ्य परिक्षण गर्न लगेर थप पीडा दिएको र घटनासँग संबंन्धित सबैलाई कागज नगराई प्रहरीले मुद्दा कमजोर बनाएको पाईएको छ ।
घटना पश्चात पीडित युवतीले साथीलाई आफुमाथि बास्कोटाले बलात्कार गरेको र त्यसका कारण शरिरका बिभिन्न भागमा चोट समेत लागेको बताएकी थिइन । सोही कुरा उनले इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख डिएसपी मिङ बहादुर लामा र अन्य अनुसन्धान अधिकृतलाई समेत खुलाए पनि स्वास्थ्य परिक्षणको क्रममा प्रहरीले उक्त कुरा लुकाएको पीडितले बताएकी छिन् ।
उनले घटना घट्दा लगाएको कपडा आफुसँग सुरक्षित रहेको प्रहरीलाई जानकारी गराएपनि प्रमाणका लागि उक्त कपडा प्रहरीले जाँच नगरेको उनको भनाई छ । त्यस्तै जाहेरी दर्ता गरे लगत्तै आरोपी र पीडित दुवैलाई प्रहरी भ्यानको डालामा एकैठाउँ कोचेर काकडभिट्टा बाट मेची प्रादेशिक अस्पताल भद्रपुर लगेको पाईएको छ ।
कानुनत बलात्कार जस्तो जघन्य अपराधको घटनामा पीडकबाट थप पीडा नदिन पीडितलाई उसको सम्पर्कमा नजाने ब्यवस्था मिलाईएको हुन्छ । यसैगरी सबैभन्दा पहिले उनिमाथि बलात्कार भएको जानकारी प्राप्त गर्ने ब्यक्तीलाई समेत प्रहरीले कागजै नगराई मुद्धा बुझाएको पाईएको छ ।
यसबाट प्रहरीकै मिलेमतोमा मुद्धा कमजोर बनाउन खोजिएको थप पुष्टी हुने पीडितका आफन्तले बताएका छन् । उनिहरुले आफुहरुलाई प्रहरीले कागजै नगराई अदालतमा मुद्धा बुझाउने तयारी गरेको थाहा पाएर जिल्ला सरकारी वकिलको कार्यालयमा समेत जानकारी गराईएको भएपनि जिल्ला न्यायधिवक्ताले सुनुवाई नगरेको गुनासो गरेका छन् ।
सबैजनाको मिलेमतोमा आरोपीलाई छुटाउने चलखेल भईरहेको उनिहरुले बताएका छन् । यस्तै आफुहरुलाई बिभिन्न तरिकाले प्रलोभनमा पारेर मुद्धा कमजोर बनाउन लागिरहेको पनि उनिहरुको भनाई छ ।
पीडकका परिबार र स्थानीय केही युवा अदालतमा समेत मुद्धा कमजोर बनाउन बिभिन्न शक्तिकेन्द्र धाइरहेको पाईएको छ । जाहेरी दर्ता गर्न काकडभिट्टा प्रहरीमा जाँदादेखी नै प्रहरीको ब्यवहार पीडित मैत्री नभई पीडकमैत्री भएको आफुले महशुस गरेको पीडित युवतीले बताएकी छिन् । अनुसन्धानको क्रममा खुलेका गोप्य तथ्य समेत पीडक पक्षलाई जानकरी गराईएको र युवतीको मान प्रतिष्ठामा आँच आउने किसिमको गतिबिधि प्रहरीबाटै भएको जानकारी आफुहरुले पनि पाएको उनका आफन्तको भनाई छ ।
यसबारे प्रतिक्रिया लिन इप्रका काकडभिट्टाका प्रमुख लामालाई पटक–पटक फोन सम्पर्क गर्दापनि फोन उठेन । प्रहरीले अनुसन्धान सकेको भन्दै गत कात्तिक १३ गते नै सरकारी वकिल मार्फत मुद्धाको मिशिल जिल्ला अदालत झापामा बुझाएको छ । १४ गते जिल्ला न्यायधिस ऋतबहादुर पुलामी मगरको इजलासमा परेको उक्त मुद्धा हेर्दाहेर्दैमा राखिएको छ ।