News 24 Television
झापाको कनकाई–६ मा ३३ प्रतिशत मत खस्यो

झापा ।  झापाको कनकाई–६ मा स्थानीय तहको उपनिर्वाचनअन्तर्गत वडाध्यक्ष पदको लागि शान्तिपूर्ण मतदान भइरहेको छ । दिउँसो १२ बजेसम्म ६ सय ९४ मत खसेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । 

२ हजार ५८ मतदाता रहेको उक्त वडामा अहिलेसम्म ३३ प्रतिशत मत खसेको हो । चम्पापुर माध्यमिक विद्यालयमा रहेको दुई वटा मतदान केन्द्रमध्ये ९क० ३३४ र (ख)मा ३६० मत खसेको उनले बताए । अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा भइरहेको उनको भनाई छ ।

कनकाई नगरपालिका ६ मा एक स्वतन्त्र र ८ राजनीतिक दलसहित ९ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारतर्फ लक्ष्मीप्रसाद ओली, नेपाली काँग्रेसबाट रानगोपाल ओली, नेकपा एमालेबाट तुलराम बस्नेत, नेकपा माओवादी केन्द्रबाट गणेशबहादुर थापा, जनमत पार्टीबाट सुकलाल राजवंशी, राप्रपाबाट नारायणप्रसाद निरौला, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजवंशी, मङ्गोल नेशनल अर्गनाइजेसनबाट पदमबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

एमालेका तर्फबाट पाँच सय आठ मत प्राप्त गरी वडाध्यक्षमा विजयी दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा गत असारमा निधन भएपछि सो वडामा उपनिर्वाचन भइरहेको छ ।  

२०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार इन्द्रप्रसाद नेपाललाई फराकिलो मतान्तरले पराजित गर्दै नेपाली काँग्रेसका लक्ष्मीप्रसाद ओली वडाध्यक्षमा विजयी भएका थिए।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update