काठमाडौं । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग ‘एनपीएल’को कीर्तिपुरस्थित क्रिकेट मैदानमा शानदार शुरुवात भएको छ ।
विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडीहरू एकअर्काविरुद्ध मैदानमा उत्रिदा दर्शकको भीड मैदानभित्र र बाहिर थेगिनसक्नु थियो । हजारौं दर्शकसामु पहिलो खेलमा जनकपुर बोल्ट्सले विजयी शुरुवात गरको छ ।
नेपाल प्रिमियर लिग ‘एनपीएल’को शुक्रबारको प्रिम्याच कन्फ्रेन्समा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साहले आफूहरूको तयारी फिल्डमा देखिने बताएका थिए ।
नभन्दै त्रिवि मैदान कीर्तिपुरमा १२ हजार दर्शकसामु जनकपुर बोल्ट्सले पहिले खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै शान्दार विजयी शुरुवात गरेको छ ।
जनकपुरका ललितनारायण राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक तीन विकेट लिए । तर, जनकपुरका ओपनर तथा कप्तान अनिलकुमार साह पाँच र आसिफ शेख शून्य रनमै पेभिलियन फर्किए पछि जनकपुरका समर्थकहरू निराश भैसकेका थिए ।
तर, लाहिरू मिलान्थाले एकल इनिङ्स खेल्दै जनकपुरलाई जित दिलाए । ५३ बल खेलेका उनले ९ चौका र तीन छक्कासहित अविजित ७५ रन बनाए ।
विराटनगरका क्रिस सोल र प्रतीश जिसीबाहेक अन्य बलरले विकेट लिन सकेनन् । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो ।
विराटनगर किङ्सका ओपनर मार्टिन गप्टिलले एनपीएलमा पहिलो अर्धशतक प्रहार गरेका थिए । पहिलो खेल हारे पनि आगामी खेलमा विराटनगरले खेल सुधार गर्ने उनको विश्वास छ ।
आफूले समर्थन गरेको टिमले हारेपछि केहि निराश देखिएका समर्थकहरु भने अर्को खेलमा राम्रो प्रदर्शन हुने अपेक्षामा छन् ।
दुवै टोलीमा विदेशी खेलाडीको प्रदर्शन उच्च रह्यो । तर, कुनै पनि नेपाली खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । विराटनगरको कुनै पनि नेपाली ब्याटर चल्न सकेनन् । बलिङतर्फ पनि प्रतिशबाहेक अन्य नेपाली बलरले विकेट निकाल्न सकेनन् ।
ब्याटिङमा टिक्न नसकेका जनकपुरका नेपाली खेलाडीले बलिङमा राम्रो प्रदर्शन गरे । रणनीति अनुसार नै खेल भएको भन्दै जनकपुरका कप्तान साहले विदेशी खेलाडीमा मात्रै निर्भर नरहेको बताएका छन् ।
पहिलो खेलमा दर्शकहरूको उत्साहले पनि खेलाडीहरू हौसिएका छन् । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपिएलमा विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडीको खेल हर्न कीर्तिपुरस्थित क्रिकेट मैदान खचाखच थियो ।
टिकट नपाएका कारण दर्शकहरूले रुख चढ्ेर भएपनि खेल हेरेका छन् । टिकट भएर पनि खेल हेर्न नपाएको गुनासो पनि दर्शकको थियो । खेल हेर्न हजारौं दर्शकहरू कीर्तिपुर पुगेका कारण मैदानभित्र र बाहिर थेगिनसक्नुको भिड थियो ।
बाहिर भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे पर्नुका साथै लाठी चर्चा समेत भएको थियो । जसमा भने धकेलाधकेल हुँदा केहि घाइत भएका छन् ।
सर्वसाधारण र सुरक्षाकर्मीमा सातजनाभन्दा बढि घाइते भएको बताइएको छ । पहिलो पटक टियुमा जडान गरिएको डिजिटल स्कोरबोर्ड पनि खासै प्रभावकारी बन्न सकेन । यद्यपी नेपाल क्रिकेट संघ ‘क्यान’ले अघिल्लो देलको तुलनामा व्यवस्थापन सुधारेको भन्दै अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बन्नु पर्ने सुझाव दिएका छन् ।
क्रिकेटको यो उत्सव २० दिनसम्म चल्नेछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । आइतबार स्थानीय तह उपनिर्वाचका कारण खेल हुनेछैन ।
सोमबार काठमाडौँ गुर्खाज र चितवन राइनोजबीच खेल ९ बजेर १५ मिनेटमा हुने छ भने दोस्रो खेल १ बजेर १५ मिनेटमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ । फाइनल खेल पुस ६ गते हुनेछ । र, प्रतियोगिताको विजेताले एक करोड ११ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।