काठमाडौं । सत्ता टिकाउन काँग्रेस र एमालेलाई पालो पालो प्रयोग गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको ३२ सिटलाई म्याजिक नम्बरको संज्ञा दिने गर्दथे । तर प्रचण्डको तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेले उक्त उक्तिको भारलाई थेग्न सकेन ।
एमालेसँगकै सत्ता समीकरण रहँदा प्रचण्डले आफ्नो म्याजिक नम्बरले सँधै सत्तामा राख्ने दावी गरेका थिए । तर त्यसको एक हप्ता नवित्दै काँग्रेस र एमालेले सत्ता सहकार्यको विषयलाई अघि बढाए । त्यसको सार्थकतापछि माओवादी प्रतिपक्षी कित्तामा पुगेको छ ।
सत्ताबाट बाहिरिएपछि माओवादी केन्द्रले काँग्रेस एमालेको गठबन्धनलाई अपवित्रताको संज्ञा दिने गरेको छ । त्यस्तै वर्तमान सत्ता गठबन्धनलाई माओवादीले भ्रष्ट र विचौलिया निर्मित भन्ने आक्षेप बारमबार लगाउँदै आयो । तर पछिल्लो समय माओवादीले पुनः सत्ताप्रति लोभ देखाउन थालेको संकेत दिइरहेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले काँग्रेस एमाले गठबन्धनको सरकार बनेयता अब सत्ताको खेलमा नलाग्ने जिकिर गरिरहेका थिए । यद्यपि प्रचण्ड पछिल्लो समय सत्ताको खेलमा लागेको देखिन्छ । माओवादी मिसन ८४ को नारा लिएर बलियो शक्ति निर्माणको अभियानमा रहेको बताइएपनि अध्यक्ष प्रचण्ड भने सत्ताको मोहले ग्रसित देखिन्छन् । यसको खुलासा काँग्रेस महामन्त्री गगन थापाले नै पनि गरिरहेका छन् ।
गगनको यो खुलासाले काँग्रेस एमालेले सत्ता सहकार्य गरेपछि सँधै सत्ता गठबन्धनमाथि टिप्पणी गरिरहने प्रचण्डले फेरि काँग्रेसलाई प्रधानमन्त्री कार्ड फ्याँकिरहेको प्रष्ट देखिन्छ । यसले प्रचण्ड पुनः ३२ सिटको जादूयी खेलमा लागिरहेको बुझ्न कठिन छैन ।
प्रचण्ड सचिवालयको खण्डन
गगन थापाले माओवादी अध्यक्ष प्रचण्डलमाथि काँग्रेसलाई हप्तैपिच्छे प्रधानमन्त्री बन्न अफर पठाएको आरोप लगाएपछि प्रचण्डको सचिवालयले भने उक्त भनाइको खण्डन गरेको छ । महामन्त्री थापाले चुनावी सभालाई सम्बोधन गर्नेक्रममा उक्त आरोप लगाएका थिए ।
यसलगत्तै प्रचण्डको सचिवालयले भने माओवादी कसैलाई प्रधानमन्त्रीको अफर गर्दै नहिँड्ने बरु नयाँ जनादेशबाट आँफै प्रधानमन्त्री बन्न सक्षम हुने जवाफ दिएको हो । साथै उक्त अभिव्यक्तिलाई उपनिर्वाचनमा काँग्रेसको ओराला यात्राको मनोदशा गगनमा देखिएको पनि माओवादीले टिप्पणी गरेको छ ।
गगनको संकेत के ?
महामन्त्री गगन थापाले नेपाली काँग्रेस संसदको सबैभन्दा ठूलो दलभएको भन्दै वर्तमान गठबन्धन कायम राख्न आफूहरुकै प्रमुख भूमिका रहने संकेत गरेका छन् । यस्तोमा प्रमुख प्रतिपक्षी दलबाट विभन्न प्रस्तावहरु आएपनि काँग्रेसले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने र कुनै गठजोडमा नलाग्ने विषयलाई प्रष्ट पार्न खोजेको देखिन्छ ।
पछिल्लो समय राजनीतिक वृत्तमा सरकार परिवर्तन हुने खतरा पैदा भइरहेको चर्चा पनि हुने गरेको छ । यो अवस्थामा सत्तारुढ दलहरुको सार्वजनिक अभिव्यक्ति सुन्दा तत्काल सरकार परिवर्तन हुने खतरा भने देखिँदैन ।
जसकारण प्रचण्डको ३२ नम्बरको जादूले पनि तत्काल काम नगर्ने देखिन्छ । उपनिर्वाचनकै सम्मुखमा आएको प्रचण्ड लक्षित गगनकोके अभिव्यक्तिले भने माओवादीलाई अस्थिर देखाउन खोजेको र गठबन्धन मजबुद रहेको भन्ने सन्देश दिन खोजेको प्रष्ट छ ।