News 24 Television
एनपीएल उद्घाटन : सन्दीप र अनिलको टिम भिड्दै, कप्तानहरु के भन्छन् ? 

काठमाडौं । क्रिकेटको मेगा उत्सव नेपाल प्रेमियर लिग ‘एनपीएल’ शुरु हुन अब केही घण्टा मात्रै बाँकी छ । नेपाल क्रिकेट संघ ‘क्यान’को आयोजनामा नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक हुन गईरहेको एनपीएल यतिबेला क्रिकेट क्षेत्रमात्र नभई समग्र खेलकुद नै क्रिकेटमय बन्न पुगेको छ । 

क्रिकेट प्रेमीहरूले ‘एनपीएल’लाई पर्वका रुपमा मनाइरहेका छन् । क्यान पनि एनपीएल भव्य हुनेमा आशावादी देखिन्छ । हरेक क्रिकेटप्रेमीको ध्यान यतिबेल एनपीएलमा छ । देशभित्र मात्र नभएर विदेशमा रहेका क्रिकेटप्रेमी पनि नेपाली क्रिकेटको यो महाकूम्भलाई व्यग्र प्रतीक्षा गरिरहेका छन् । 

क्यान आफैँले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ । 

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनपीएलको भव्य शुभारम्भ हुँदैछ । उद्घाटन खेलमा विराटनर किङ्स र जनकपुर बोल्ट भिड्दै छन् । दुबै टोली जीत निकाल्ने उद्यश्यले मैदानमा उत्रदैछन् । क्रिकेटका अन्तराष्ट्रिय अधिकांश फेन्चाइच लिग खेलेका विराटनर किङ्सका कप्तान सन्दीप लामिछाने र विकेटकिपर ब्याट्सम्यान जनकपुर बोल्टका कप्तान अनिलकुमार साह आम्नेसाम्नेका लागि तयार छन् । 

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपिएलमा विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट मैदानमा उत्रदैँछन् । स्वदेशी तथा विदेशी खेलाडीहरू राम्रो सन्तुलन भएकोमा आठ फ्रेञ्चाइज टिम नै विश्वस्त देखिन्छन् । 

नेपालको सर्वाधिक लोकप्रिय खेलमध्येको ‘क्रिकेट’ प्रतियोगितामा यो पटक टियु मैदानमा दर्शकहरुको घुँईचो लाग्ने निश्चित छ । खेल शुरु नहुँदै क्रिकेटको क्रेज मैदान बाहिर देखिन्थ्यो । 

‘एनपीएल’ को ९९ प्रतिशत तयारी सकिएको भन्दै क्यानले क्रिकेटप्रेमीहरूको उत्साहलाई निरन्तरता दिन र नेपाली क्रिकेटको विकासका लागि क्यानले अझ धेरै काम गर्न बाँकी रहेको जनाएको छ । एनपीएलको आयोजनासँगै क्रिकेट नयाँ युगामा प्रवेश गरेको दाबी क्यानको छ । कीर्तिपुरको अन्तर्राष्ट्रिय टियु क्रिकेट मैदान भव्य बनाइनुका साथै विदेशी खेलाडीहरूको आगमनले एनपीएललाई रोचक, रोमाञ्चक र सनसनीपूर्ण बनाउने अपेक्षा छ । यता, उद्घटान खेलका लागि सबै टिकट समेत सोल्ड आउट भइसकेको क्यानले जनाएको छ । 

क्यानले टिकट सोल्ड आउट भएको भन्दै खेल टेलिभिजन र युट्युबमार्फत हेर्न अपिल गरिरहेको विषयले पनि क्रिकेट क्रेजलाई उजागर गरिदिएको छ । यता, एनपीएललाई नेपाली क्रिकेटमा गेम चेन्जर इभेन्ट बनाउने र खेल संस्कार पनि विकास गर्ने क्यानको लक्ष्य छ । तर, यति ठूलो फेन्चाइच आयोजना हुँदा दर्शकले अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियमको अभाव भने महशुस गरेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update